Biratnagar, Morang, Nepal
३ असार २०८३, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

कोशीको बजेट कार्यान्वयनमुखी हुनुपर्ने घरेलु उद्योग महासंघको जोड

उद्‌घोष संवाददाता
३ असार २०८३, बुधवार

Advertisement

विराटनगर । नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला कार्यसमिति मोरङले कोशी प्रदेश सरकारद्वारा आर्थिक वर्ष २०८३–८४ का लागि प्रस्तुत बजेट तथा नीति तथा कार्यक्रमप्रति आफनो आधिकारिक धारणा सार्वजनिक गरेको छ ।

महासंघका अध्यक्ष चेतनाथ निरौलाद्वारा जारी विज्ञप्तिमा उद्योग, कृषि तथा सहकारी मन्त्रालयका लागि २ अर्ब ९२ करोड रुपैयाँ बजेट विनियोजन गरी उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखिएको विषयलाई सकारात्मक रूपमा लिइएको उल्लेख छ । 

स्थानीय उत्पादन, रैथाने प्रविधि, पर्यटन तथा कृषि आधारित लघु एवं घरेलु उद्योग प्रवद्र्धन गर्ने नीतिको समेत महासंघले स्वागत गरेको छ ।

त्यस्तै, ‘म अघि बढ्छु’ कार्यक्रममार्फत ५ हजार युवालाई सीपमूलक तालिम प्रदान गर्ने लक्ष्य र नयाँ उद्योग स्थापनाका लागि जग्गा खरिदमा राजस्व छुट दिने व्यवस्थाले स्वरोजगार तथा औद्योगिक लगानी वृद्धि गर्न सहयोग पुग्ने महासंघको विश्वास छ ।

यद्यपि, महासंघले बजेट कार्यान्वयन पक्षलाई लिएर गम्भीर चिन्ता व्यक्त गरेको छ । 

विगतका वर्षहरूमा पुँजीगत खर्च न्यून रहेको उल्लेख गर्दै यस वर्ष साउन महिनादेखि नै स्पष्ट कार्यतालिकासहित बजेट कार्यान्वयन गर्न प्रदेश सरकारसँग माग गरिएको छ ।

विज्ञप्तिमा कार्यविधि निर्माणमा हुने ढिलाइ र प्रशासनिक जटिलताका कारण विगतका धेरै कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै साना उद्यमीले सहज रूपमा सरकारी सहुलियत प्राप्त गर्ने वातावरण सुनिश्चित गर्न आग्रह गरिएको छ ।

महासंघले कोशी प्रदेशका लघु, घरेलु तथा साना उद्योगलाई लक्षित गरी सहुलियतपूर्ण कर्जा कोष तथा विशेष औद्योगिक ग्रामजस्ता दीर्घकालीन रणनीतिक कार्यक्रमको स्पष्ट खाका बजेटमा नसमेटिएको विषयलाई पनि औंल्याएको छ । 

महासंघले समग्रमा बजेटलाई आंशिक रूपमा सकारात्मक भनेको छ । बजेटको सफलता घोषणा भन्दा पनि पारदर्शी र प्रभावकारी कार्यान्वयनमा निर्भर रहने उल्लेख गर्दै प्रदेश सरकारसँग सहकार्य र आवश्यक खबरदारीका लागि आफूहरू तयार रहेको  पनि महासंघले जनाएको छ ।

View : 174

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved