Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

कोशीका तीन जिल्लामा रास्वपाको ‘क्लिन स्विप’

उद्‌घोष संवाददाता
२५ फागुन २०८२, सोमवार

विराटनगर । यसपटकको प्रतिनिधिसभा निर्वाचनमा मुलुकव्यापी लहर ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टीले कोशी प्रदेशका तीन जिल्लाका सबै क्षेत्र जितेको छ ।

कोशी प्रदेशको सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको मोरङका ६ वटै, झापाका पाँचवटै र उदयपुरका दुईवटै क्षेत्रमा जीत हासिल गरेर रास्वपाले यी तीनवटै जिल्लामा ‘क्लिन स्वीप’ गरेको हो ।

यसअघि कांग्रेस–एमालेले आलोपालो जित्दै आएको उदयपुरका दुवै क्षेत्रमा यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार निर्वाचित भएका छन् ।

२०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका डा. नारायण खड्का र क्षेत्र नम्बर २ मा नेकपा एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित भएका थिए ।

यसपटक भने दुवै क्षेत्रमा कांग्रेस–एमालेका उम्मेदवार फराकिलो मतान्तरले पराजित भएका छन् ।

क्षेत्र नम्बर १ मा रास्वपाका पारसमणि गेलाल १८ हजार ९८४ मतान्तरका साथ निर्वाचित भएका छन् । उनले ३० हजार ५९० मत पाएका छन् ।

क्षेत्र नम्बर १ मा कांग्रेस–एमालेका उम्मेदवार दोस्रोसमेत हुन सकेनन् । यहाँ रास्वपाको प्रमुख प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका उम्मेदवार राजेशकुमार राई रहेका छन् ।

राईले ११ हजार ६०६ मत प्राप्त गरेका थिए । उदयपुर १ मा ७९ हजार ९५६ खसेको थियो ।

रास्वपाका उम्मेदवार गेलालले मतगणनाको सुरुवातदेखि नै अग्रता कायम गर्दै जीत सुनिश्चित गरेका थिए । नेपाली कम्युनिष्ट पार्टीका बलदेव चौधरी १० हजार २१ मतका साथ तेस्रो बने ।

त्यस्तै नेपाली कांग्रेसका बिदुर बस्नेत ९ हजार ६७५ र नेकपा एमालेका दुर्गाकुमार थापा ९ हजार २०६ मत पाएर चौथो बनेका हुन् ।

उदयपुर–२ मा पनि रास्वपाका सूर्य तामाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका छन् । उनले १४ हजार ८०२ मतसहित विजयी भए ।

नेकपा एमालेका उम्मेदवार अम्बर बहादुर रायमाझीले ७ हजार ६४८ मत पाएका छन् ।

नेपाली कांग्रेसका रामकुमार राईले ७ हजार २९० मत प्राप्त गरेका छन् ।

नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार सुरेशकुमार राईले ५ हजार ११७ मत प्राप्त गरेका छन् । श्रम संस्कृति पार्टीका उम्मेदवार बलराज राईले पनि ३ हजार १३९ मत प्राप्त गरेका छन् ।

मोरङका सबै क्षेत्रमा रास्वपाका उम्मेद्वार विजयी भएका छन् ।

मोरङ १ मा रास्वपाका यज्ञमणि न्यौपाने २७ हजार ३६७ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीकी शान्ति पाख्रिन लामाले १७ हजार ५५२ मत प्राप्त गरिन् ।

मोरङ २ मा रास्वपाका कृष्णकुमार कार्की ४० हजार ९२४ मतका साथ विजयी भएका छन् ।

निकटतम प्रतिस्पर्धी दिलिपकुमार अग्रवालले १५ हजार ६२४ मत प्राप्त गरेका छन् । कांग्रेसका मिनेन्द्र  रिजालले तेस्रो बन्ने क्रममा १२ हजार ७६४ मत प्राप्त गरेका छन् ।

मोरङ ३ मा रास्वपाका गणेश कार्की ३६ हजार ९२४ मतका साथी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका सुनिल शर्माले २४ हजार ३५४ मत प्राप्त गरेका छन् ।

मोरङ ४ मा रास्वपाका सन्तोष राजवंशी ४० हजार ८३३ मतका साथ विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी कांग्रेसका गुरूराज घिमिरेले १२ हजार ८१८ मत प्राप्त गरेका छन् ।

मोरङ ५ मा रास्वपाकी आशा झा ३० हजार ४३४ मतका साथ विजयी भएकी छन् ।

निकटतम कांग्रेसका फूलकुमार लालवानी ९ हजार ४१५ मत प्राप्त गरेका छन् ।

मोरङ ६ मा रास्वपाकी रूबिना आचार्यले ५५ हजार ५१३ मत प्राप्त गरेर विजयी भएकी छन् । निकटतम प्रतिस्पर्धी कांग्रेसका शेखर कोइरालाले १२ हजार ८५० मत प्राप्त गरेका छन् ।

२०७९ सालको निर्वाचनमा मोरङका ६ मध्ये तीनवटामा कांग्रेस, एउटामा तत्कालीन माओवादी, एउटामा एमाले र एउटामा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए ।

बालेन शाह विजयी भएको झापा जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा रास्वपाले जितेको छ ।

नेकपा एमाले र नेपाली कांग्रेसको ठूलो प्रभाव रहेको झापाका पाँचवटै निर्वाचन क्षेत्रमा रास्वपा उम्मेदवारहरू अत्यधिक मतान्तरका साथ विजयी भएका छन् ।

झापा १ मा रास्वपाकी निशा डाँगी ४५ हजार ६८० मत प्राप्त गरेर विजयी भएकी छन् । उनका निकट प्रतिस्पर्धी कांग्रेसका केशवराज पाण्डेले १० हजार ५५० मत प्राप्त गरेका छन् ।

झापा २ मा रास्वपाबाटै निवर्तमान उपसभामुख इन्दिरा राना मगर ६० हजार ११० मतका साथ विजयी भएकी छन् ।

उनका निकट प्रतिस्पर्धी विघटित प्रतिनिधिसभाका सभामुख तथा नेकपा एमालेका उम्मेदवार देवराज घिमिरेले ११ हजार ३६८ मत मात्र प्राप्त गरे ।

झापा ३ मा रास्वपाका प्रकाश पाठक ३८ हजार ६७४ मतका साथ विजयी भएका छन् । 

उनका निकट प्रतिस्पर्धी राप्रपाका राजेन्द्र लिङ्देनले १७ हजार २९४ मत प्राप्त गरेका छन् ।

झापा ४ मा रास्वपाका शम्भुप्रसाद ढकाल ४३ हजार ६३१ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकट प्रतिस्पर्धी एमालेका एलपी साँवा लिम्बूले ११ हजार ९८६ मत मात्र प्राप्त गरेका छन् । 

झापा ५ मा रास्वपाका वरिष्ठ नेता बालेन शाह ६८ हजार ३४८ मतका साथ विजयी भएका छन् ।

उनका निकट प्रतिस्पर्धी एमालेका केपी शर्मा ओलीले १८ हजार ७३४ मत मात्र प्राप्त गरे ।

अघिल्लो निर्वाचनमा झापाका पाँचमध्ये तीनवटा क्षेत्रमा एमाले, कांग्रेस र राप्रपाका एक–एक उम्मेदवार विजयी भएका थिए ।

View : 45

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved