विराटनगर । विराटनगर–१ पोखरियास्थित भरोसा महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा एन्जल फाउण्डेसन उर्लाबारीको प्राविधिक सहकार्यमा तीनदिने बृहत् स्वास्थ्य सचेतना तथा निःशुल्क उपचार शिविर सम्पन्न भएको छ।
विराटनगर–१ स्थित महेन्द्रेश्वर शिवालय मन्दिरको सभाहलमा आयोजित शिविरको पहिलो चरणमा प्राथमिक स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो।
जसमा १३५ जना स्थानीयको सहभागिता रहेको थियो।
कार्यक्रममा पायल्स, फिसर, फिस्टुला, हृदयघात, जलन (आगोले पोलेको), सर्पदंश तथा विद्युतीय दुर्घटनाजस्ता आपत्कालीन अवस्थामा अपनाउनुपर्ने प्राथमिक उपचार विधिबारे प्रशिक्षण दिइएको थियो।
शिविरको दोस्रो दिन ५१ जनाको निःशुल्क रक्तचाप (प्रेसर) तथा मधुमेह (सुगर) परीक्षण गरिएको थियो।
तेस्रो तथा अन्तिम दिन ९२ वर्षीय ज्येष्ठ नागरिक भीमप्रसाद घिमिरेको स्वास्थ्य जाँच गरी विशेषज्ञ सेवाको सुरुवात गरिएको थियो।
सो दिन ५२ जना बिरामीले पायल्स, फिस्टुला र फिसरसम्बन्धी विशेषज्ञ परामर्श तथा उपचार सेवा प्राप्त गरेका थिए।
तीमध्ये ६ जना जटिल प्रकृतिका बिरामीको शिविर स्थलमै आधुनिक प्रविधिबाट सफल शल्यक्रिया (माइनर सर्जरी) समेत गरिएको आयोजकले जनाएको छ।
शिविरमा एन्जल फाउण्डेसन तथा फरिस्ता क्लिनिकका वरिष्ठ सर्जन डा. रोशनकुमार शाह, मेडिकल अफिसर डा. विश्वजित राय, शिविर प्रमुख अस्मिता शर्मा, अहेव पञ्जिका थापा मगर, ल्याब प्राविधिक प्रमिला कार्की र जया राजवंशी, स्वास्थ्यकर्मीहरू कुमार अधिकारी, डा. टीका भट्टराई तथा चालकद्वय भीम रावल र मेघराज नेपालले स्वास्थ्य सेवा सहजीकरण गरेका थिए।
टोलबासी तथा सहकारीका सेयर सदस्यहरूलाई प्रत्यक्ष स्वास्थ्य लाभ पुर्याउने उद्देश्यले शिविर आयोजना गरिएको सहकारीकी अध्यक्ष दुर्गादेवी रिजाल आचार्यले बताइन्।
समापनका अवसरमा अध्यक्ष रिजालले आगामी दिनमा पनि समुदायकेन्द्री यस्ता स्वास्थ्य कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै खटिएका सम्पूर्ण स्वास्थ्यकर्मी टोलीप्रति आभार व्यक्त गरिन्।
View : 125
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved