Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

मनोजविक्रम शाहसहित जनता माविका शिक्षक र सहयोगी सम्मानित

उद्‌घोष संवाददाता
११ जेठ २०८३, सोमवार

विराटनगर । एसईई परीक्षामा शून्यबाट शतप्रतिशत नतिजा दिलाउन सफल भएकोमा जनता नमूना मावि विराटनगर–२ का पूर्व व्यवस्थापन समिति अध्यक्ष मनोजविक्रम शाह सम्मानित भएका छन् । 

तीन वर्ष अघि एक जना पनि विद्यार्थी उत्तीर्ण नभएर बन्द हुने अवस्थामा पुगेको विद्यालयलाई शाहले आफ्नो ३ वर्षे कार्यकालमा भौतिक र शैक्षिक रूपमा कायापलट गरेपछि विद्यालय प्रशासनले उनलाई भव्य सम्मान गरेको हो ।

सोही अवसरमा पूर्व विद्यार्थी संघ, जनता स्कुलको आयोजनामा २०८२ सालको एसईईमा उत्कृष्ट योगदान पुर्याउने शिक्षक, विद्यार्थी र सहयोगीहरूलाई पनि सम्मानित गरेको छ ।

विषयगत रूपमा उत्कृष्ट मिहिनेत गर्ने शिक्षकहरू क्रमशः शंकर पोखरेल, अरुण कोइराला, रमेश अधिकारी, शिवनारायण यादव, कल्पना शर्मा, मञ्जु खनाल, गोमा नेपाल, शशिकान्तकुमार मण्डल र उज्ज्वल राउत सम्मानित भए भने संयोजनकारी भूमिकाका लागि वर्तमान प्रअ चिन्तामणि रिजाल र पूर्व प्रअ ईश्वर घिमिरेलाई सम्मानित भएका थिए । 

कार्यक्रममा विव्यसकी पूर्व सदस्य इन्दु सुवेदी, निःशुल्क अध्यापन गराउने पूर्व विद्यार्थी डा. मनोजकुमार राउत तथा ट्युसन शिक्षकका लागि आर्थिक सहयोग गर्ने नारायण पराजुली, सञ्जीत रिजाल र नरेश पौडेललाई पनि सम्मान गरिएको थियो । 

संघका अध्यक्ष उमेश भगतको अध्यक्षतामा भएको कार्यक्रममा अग्रज पत्रकार शिवबहादुर कार्की, महासचिव देवी पोखरेल, भुवनराज रेग्मी, विद्यार्थी प्रतिनिधि जयकृष्ण सञ्जेल र वर्तमान विव्यस अध्यक्ष गोविन्द उराव लगायत शिक्षासेवी तथा पूर्व विद्यार्थीहरूको उपस्थिति थियो । 

सम्मानित शाहले विद्यालयको विगतको चुनौती सम्झंदै आगामी दिनमा पनि विद्यालयको उन्नयनमा सहयात्री बन्ने प्रतिबद्धता जनाए ।

View : 294

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved