Biratnagar, Morang, Nepal
२४ साउन २०८३, आइतवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

विश्व स्तनपान सप्ताह

स्तनपान : आमा बच्चा दुबैका लागि फाइदै फाइदा

जुनु भट्टराई
२४ साउन २०८३, आइतवार

Advertisement

विराटनगर । बिगतका बर्षहरूमा जस्तै यसवर्ष पनि बिभिन्न कार्यक्रम गरि सप्ताहब्यापी रूपमा विश्व स्तनपान सप्ताह हालै सम्पन्न भएको छ ।

हरेक आमालाई आफ्ना शिशुलाई नियमित रूपमा ६ महिनासम्म स्तनपान गराउन प्रेरित गर्न विश्व स्वास्थ्य संगठन र युनिसेफको अनुरोधमा अंग्रेजी महिना अगस्टको १ देखि ७ तारिखसम्म विश्वभर यो दिवस सप्ताहव्यापी रूपमा मनाइएको हो । 

स्तनपान बच्चाको लागि अमृत समान हो । जन्मनासाथ आमाको दूध खान पाउनुपर्छ । यो उसको जन्मसिद्ध अधिकार हो । बच्चा जन्मेको बढीमा १ घण्टाभित्र स्तनपान गराई हाल्नुपर्छ । 

बच्चा जन्मनासाथ तुरून्त स्तनपान नगराएमा दूध भित्रभित्रै गान्निएर कडा हुन गई स्तनपान गराउन नसक्ने अवस्था आउने गर्दछ । 

आमाको दूध प्राकृतिक हुने भएकाले यसमा बालकको शरीर हुर्कनलाई चाहिने सबै किसिमको पोषण तत्वहरू ठीक–ठीक मात्रामा हुन्छ । आमाको दूधमा प्रोटिन, खनिज पदार्थ, कार्बोहाइड्रेटलगायत भिटामिन डी, सी, ई र ए जस्ता तत्वहरू पनि पर्याप्त मात्रामा पाइन्छ ।

आमाको दूध नियमित खुवाइएका शिशुहरू स्वास्थ्य एवम् ह्ष्टपुष्ट हुन्छन् । 

आमाको दूधमा संक्रमण, एलर्जी वा अन्य कुनै पनि रोगको जीवाणुसँग लड्ने तत्व (एन्टिबडी) बढी रहेको हुन्छ । त्यसकारण नवजात शिशुलाई ६ महिनासम्म नछुटाइकन दूध खुवाउनु अत्यन्तै जरूरी छ । 

विराट मेडिकल कलेज शिक्षण अस्पतालकी स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा रिना शाह  स्तनपान गराउन ढिला भएमा आमाको दूध गान्निन पुगी भित्रभित्रै पाकेर समस्या देखिन सक्ने अवस्था पनि आउन सक्ने बताउँछिन् । यदि त्यस्तो समस्या देखिएमा तुरून्तै  सम्बन्धित चिकित्सक कहाँ जँचाउन गइहाल्नु उपयुक्त भएको उनि बताउँछिन् ।  

‘कतिपय अवस्थामा बच्चाले खाएर बाँकी रहेको दूध पनि भित्रभित्रै गान्निन सक्छ ।’ डा. शाह भन्छिन ‘बच्चाले चुसेर रहेको दूध तानेर फालिदिने गर्नुपर्दछ । छोटो समयका लागि फ्रिजमा राखेर तताई खुवाउन पनि सकिन्छ ।’

कहिलेकाही आमाको स्तन निकै कडा भएर स्तनपान गराउन नसक्ने अवस्थामा समेत पुग्ने गरेको पाइन्छ । स्तन सामान्यवस्थाबाट कडा हुँदै आएमा घरमै तातोले हल्कारूपमा सेक्दै जानुपर्दछ ।

यसरी सेक्दै गएमा विस्तारै स्तन नरम हुँदै जान्छ र दूध निस्कन सहयोग पुग्छ । यदि स्तन धेरै कडा भएमा दुवै छेउतिर छुट्टछुट्टै कपडाले हल्का बाँधिदिनुपर्छ, जसले गर्दा छेउछेउबाट स्तनलाई हल्का बल पुगी भित्र गान्निएको दूध बाहिर निस्कन मद्दत पुग्छ ।

स्तनपान गराउनका लागि आमा शारीरिक एवम् मानसिकरूपले तन्दुरूस्त हुनु अत्यन्तै जरूरी छ । यसका लागि आमाले गर्भावस्थादेखि नै पौष्टिक आहार दूध, घ्यू, गेडागुडी, माछामासु, फलपूmल, हरिया सागपात तथा झोलीय खानेकुरा खानुपर्दछ ।

सुत्केरी अवस्थामा घरमै बनाएर खुवाइने घरेलु औषधि खानेकुराको पनि अत्तिकै महत्व छ त्यसैले त्यस्ता खानामा बढी जोड दिनुपर्दछ ।

हिजोआज कतिपय आमाहरू स्तनपान गराएमा आमाको सुन्दरतामा ह्रास आउने, तौल, घट्ने, स्तनको आकार बिग्रिनेजस्ता भ्रमका कारण आफ्नो दूधको सट्टा बजारमा पाइने कृत्रिम दूध खुवाउने गरेको पाइन्छ । तर स्तनपानले शिशुलाई मात्र नभएर आमालाई पनि निकै फाइदा पुग्छ । स्तनपान गराउने महिलामा स्तन क्यान्सर र पाठेघरको क्यान्सर हुनबाट पनि बचाउने डा. यादब बताउँछिन् । 

त्यस्ता कृत्रिम दूध बोतलबाट खुवाउदा बच्चालाई संक्रमण भई झाडाबान्ता, निमोनिया, आउ जस्ता रोग लाग्नुका साथै कुपोषण पनि हुन सक्ने बरिष्ठ बाल रोग बिशेषज्ञ डा.राजेश यादब बताउँछन् ।

विस्तारै बच्चाको स्वास्थ्य बिग्रदै गई आँखा कमजोर हुने, बौद्धिक क्षमताको विकासमा बाधा पुग्नेजस्ता लक्षणहरू देखापर्दछन् । बाल रोग विशेषज्ञ डा.यादव शारीरिक स्वास्थ्यमा मात्र होइन, स्तनपानले आमा र बच्चाको सम्बन्धमा सुमधुरतासमेत प्रदान गर्ने बताउँछन् ।

View : 27

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved