Biratnagar, Morang, Nepal
९ भदौ २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

कप्तानगञ्ज घटना:

गोलीकाण्ड छानविन प्रतिवेदन : सुरक्षाकर्मीकै गोलीबाट तीन जनाको ज्यान गएको पुष्टि

उद्‌घोष संवाददाता
८ भदौ २०८३, सोमवार

Advertisement

विराटनगर । गएको साउन १० गते राति सुनसरीको देवानगञ्जस्थित कप्तानगञ्जमा भएको दुई समुदायबीच तनावका क्रममा ज्यान गुमाउने सबैलाई सुरक्षाकर्मीकै गोली लागेको प्रमाणित भएको छ । 

सरकारले गठन गरेको छानविन समितिको प्रतिवेदनले सुरक्षाकर्मीले चलाएको गोलीबाटै स्थानीय युवाहरूको ज्यान गएको किटान गरेको छ । 

सुनसरीको देवानगञ्जपछि  सिरहामा पनि एक जनाको ज्यान गएको थियो । उनको पनि प्रहरी गोलीबाटै मृत्यु भएको छानविन समितिको ठहर छ । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोलीबाट तीन जना र सिरहामा प्रहरीको गोलीबाट एक जनाको मृत्यु भएको गृह मन्त्रालयद्वारा गठित अलग–अलग छानबिन समितिको निष्कर्ष छ ।

गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको नेतृत्वमा सुनसरी घटना र सहसचिव पुष्पराज शाही नेतृत्वमा सिरहाको छानविन भएको थियो । छुट्टाछुट्टै टोलीले स्थलगत अध्ययनपछि गृहमन्त्री सुधन गुरूङलाई प्रतिवेदन बुझाएको थियो ।

सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीचको विवादले हिंसात्मक रूप लिएपछि पुगेको सुरक्षा टोलीले गोली चलाउँदा स्थानीय जयप्रकाश मेहता, ओमप्रकाश मेहता र रवीन्द्रकुमार मेहताको ज्यान गएको थियो । 

सिरहाको गोलबजारमा भएको झडपमा गणेश यादवको प्रहरीकै गोली लागेर मृत्यु भएको थियो । घटनालगत्तै गृह प्रशासनले गोली कसले चलायो भन्ने विषय गुमराहमा राखेको थियो । 

छानबिन टोलीका एक सदस्यका अनुसार विभागीय कारबाहीको डरले सुरक्षाकर्मीले सुरूमा गोली चलाएको तथ्य स्वीकार गरेका थिएनन् । घटनास्थलबाट गोलीका खोकासमेत गायब पारिएको थियो ।

प्रतिवेदनमा फिल्डमा खटिएर प्रत्यक्ष गोली चलाउने सुरक्षाकर्मीलाई किटान गरी कानुन बमोजिम कारबाही गर्न भनिएको छ । साथै, सिरहाका तत्कालीन प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल र प्रहरी उपरीक्षक बासुदेव पाठकको नेतृत्व क्षमतामा गम्भीर प्रश्न उठाउँदै उनीहरूलाई सचेत गराउन सिफारिस गरिएको छ ।

सिरहामा अनियन्त्रित रूपमा प्रहरीले चलाएको गोलीबाट गणेश यादवको मृत्यु भएपछि मात्रै आन्दोलनले भयानक रूप लिएको समितिको ठम्याइ छ । त्यसपछिको आक्रोशका कारण मुस्लिम समुदायका पसल, मस्जिद र व्यावसायिक भवनहरूमा आगजनी तथा तोडफोड भएको निष्कर्ष प्रतिवेदनमा निकालिएको छ ।

नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी अबिनारायण काफ्लेले भने प्रतिवेदनको औपचारिक पाठ प्राप्त नभइसकेको र भीड नियन्त्रणका क्रममा हवाई फायर गरिएका विवरण मात्र आएकाले कसको गोली लाग्यो भन्ने तथ्य अध्ययनपछि मात्र भन्न सकिने बताएका छन् ।

छानविन समितिले भविष्यमा देवानगञ्जजस्ता संवेदनशील सीमावर्ती क्षेत्रमा यस्ता घटना दोहोरिन नदिन पनि सुझावहरू दिएको छ । गैर–प्राणघातक हतियारको प्रयोग गर्न समितिको सिफारिश छ ।

भीड नियन्त्रणमा प्राणघातक पेस्तोल वा राइफलको सट्टा रबरको गोली र ‘वाटर क्यानन’ प्रयोग गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । त्यस्तै फिल्डमा खटिने कमान्डरले अनिवार्य बडी क्यामेरा लगाउनुपर्ने र भीडको निगरानी ड्रोनबाट गरिनुपर्ने सुझाव दिइएको छ ।

त्यसैगरी अशान्त क्षेत्रमा सीडीओ आफैँ फिल्डमा खटिनुपर्ने व्यवस्था गरी फिल्ड र प्रशासनिक बुझाइको दूरी हटाउन ऐन संशोधन गर्नुपर्ने सुझाव पनि दुवै छानविन समितिले दिएका छन् ।

View : 61

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved