Biratnagar, Morang, Nepal
२२ जेठ २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
राजनीति

विपक्षीको विरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित

उद्‌घोष संवाददाता
१९ जेठ २०८३, मङ्गलवार

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रतिपक्षी दलहरुले लगातार विरोध जनाएपछि बैठक सोमबारसम्मका लागि स्थगित भएको छ ।

निर्धारित समयभन्दा तीन घण्टा ढिलो गरेर सुरु भएको बैठकमा प्रमुख प्रतिपक्षीलगायतका विपक्षी दलले राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताका विषयमा कुनै पनि सम्झौता हुन नसक्ने उल्लेख गर्दै प्रधानमन्त्रीले आफ्नो धारणा फिर्ता लिनुपर्ने धारणा राखेका थिए ।

सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलहरुलाई कार्यसूचीमा प्रवेश गरेर सहयोग गर्न पटकपटक आग्रह गरेका थिए । 

बजेटलगायतका महत्वपूर्ण विषयमा छलफल गर्नुपर्ने भएकाले आसनग्रहण गरी बैठक सञ्चालनमा सहयोग गर्न उनले अनुरोध गरे ।

विपक्षी दलका सांसदहरुले सभामुखको आग्रहलाई अस्वीकार गर्दै निरन्तर विरोध गरेपछि बैठक यही जेठ २५ गते सोमबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।

मंगलबारको बैठकमा सभामुख अर्यालले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाए ।

त्यसअघि नेपाली कांग्रेसका सांसद अभिषेकप्रसाद साहले नेपाल–भारत सीमाका सम्बन्धमा प्रधानमन्त्री वालेन्द्र शाहले सदनमा राखेको धारणा पुष्टि गर्न आग्रह गरे । उनले नेपाली कांग्रेसका तर्फबाट सो सम्बन्धमा सदनमा विरोध दर्ज गराइएको जानकारी दिए ।

श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले देशको सार्वभौमसत्ता, अखण्डता जोगाउने सम्बन्धमा सबै सांसदहरुको समान धारणा रहेको उल्लेख गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुश्बु ओलीले प्रधानमन्त्री व्यक्ति नभई संस्था भएकाले त्यस्तो निकायबाट गलत धारणा आउनु आफैमा ग्राह्य नभएको तर्क गरे ।

देशको सीमा, सार्वभौमसत्ता, अखण्डताका विषयमा सम्झौता हुन नसक्ने उनको भनाइ थियो ।

नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले प्रधानमन्त्री राष्ट्रको अभिभावक भएकाले सीमाका सम्बन्धमा दिनुभएको वक्तव्य तथ्यमा आधारित हुनुपर्नेमा जोड दिए ।

आफूहरु संसद् सहज ढंगले चलोस् भन्नेमा प्रष्ट रहेको उल्लेख गर्दै उनले सो सम्बन्धमा सत्तापक्षको धारणा सार्वजनिक गर्न माग गरे ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद गणेशसिंह ठगुन्नाले सीमा विवाद र अतिक्रमणका विषय फरकफरक विषय भएको बताए ।

देशको भौगोलिक अखण्डता र सार्वभौमसत्ताका विषयमा कोही कसैसँग सम्झौता हुन नसक्ने उनको भनाइ थियो ।

मंगलबारको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो ।

यसैगरी सदनमा आव २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमााथि सामान्य छलफल प्रारम्भ गर्ने कार्यसूची थियो ।

View : 87

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved