Biratnagar, Morang, Nepal
१७ भदौ २०८३, बुधवार
+977 21 450305, 515728, 578305
समाज

विराट व्यापार संघद्वारा एक लाख ३१ हजार राहत सहयोग हस्तान्तरण

उद्‌घोष संवाददाता
१६ भदौ २०८३, मङ्गलवार

Advertisement

विराटनगर । भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोटलगायत जिल्लाका पीडितका लागि विराट व्यापार संघले राहत रकम संकलन गरी हस्तान्तरण गरेको छ । 

संघले बाढी तथा पहिरोका कारण प्रभावित बनेका नागरिकलाई राहत उपलब्ध गराउने उद्देश्यले एक लाख ३१ हजार रुपैयाँ संकलन गरेको हो । संघका अध्यक्ष प्रमोद जिन्दलको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको संघकी उपाध्यक्ष सरस्वती ओझाले जानकारी दिइन् ।

प्राकृतिक विपद्का कारण ठूलो जनधनको क्षति भएको र प्रभावित परिवारलाई तत्काल राहत तथा पुनःस्थापनाका लागि सहयोग आवश्यक रहेको भन्दै संघले राहत रकम संकलन गरेको थियो ।

विराटनगरमा साना तथा मझौला व्यापारी व्यवसायीहरुको प्रतिनिधिमूलक संस्थाका रूपमा चिनिएको संघले विपद्को समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै प्रभावित नागरिकको सहयोगमा हातेमालो गर्ने उद्देश्यले रकम संकलन गरेको जनाइएको छ । 

चेक हस्तान्तरण कार्यक्रममा संघका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो । राहत रकमको चेक जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री राहत कोषमा पठाइने छ । 

भोटेकोशी बाढीले रसुवा, नुवाकोटलगायत जिल्लाका विभिन्न क्षेत्रमा क्षति पुर्‍याएपछि देशका विभिन्न स्थानबाट प्रभावित नागरिकका लागि राहत तथा सहयोग जुटाउने क्रम जारी छ । विराट व्यापार संघले पनि विपद्को पीडामा रहेका परिवारलाई केही राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको जनाएको छ ।

यसैगरी, भोटेकोशी बाढीबाट पीडित भएका व्यक्ति तथा परिवारहरूका लागि विराटनगर ढुवानी व्यवसायी संघको अगुवाईमा संकलन भएको एक लाख ६ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा हुने गरी ढुवानी व्यवसायी महासंघमा पठाइएको छ । उक्त रकम बराबरको चेक महासंघमार्फत कोषमा जम्मा हुने जनाइएको छ ।

यसैबीच, नेपाल तामाङ घेदुङ विराटनगर महानगर समितिले पनि ११ हजार ११ रुपैयाँ बराबरको रकम उल्लेखित चेक प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गरेको श्याम तामाङले जानकारी दिए ।

View : 104

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved