उद्घोष दैनिक २२ औँ वार्षिकोत्सव
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य तथा सांसद मनिष झाले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारभूत मूल्य भए पनि त्यसको प्रयोग जिम्मेवारीपूर्वक हुनुपर्ने बताएका छन् ।
उद्घोष दैनिकको २२औँ वार्षिकोत्सव समारोहमा बोल्दै झाले पत्रकारिताले सत्य सूचना सम्प्रेषण गर्नुका साथै व्यक्तिको प्रतिष्ठा र गोपनीयताको सम्मानसमेत गर्नुपर्ने बताए ।
‘मिडियाको स्वतन्त्रता आवश्यक छ । तर स्वतन्त्रताको नाममा अरूको प्रतिष्ठा र गोपनीयता मिच्न पाइँदैन । पत्रकारिताको स्वतन्त्रता जिम्मेवारीसँगै जोडिनुपर्छ,’ उनले भने ‘म आफैँ पत्रकारिताको अभ्यास गरेको व्यक्ति हुँ । सञ्चारमाध्यमले राज्यलाई सचेत बनाउने र नागरिकको आवाज उठाउने काम गर्छ । त्यसैले पत्रकारिताको भूमिका लोकतन्त्रमा अत्यन्त महत्त्वपूर्ण छ ।’
झाले गलत सूचना र झुटा उजुरीका कारण नागरिक तथा व्यवसायीले ठूलो क्षति बेहोर्नुपरेको भन्दै त्यसविरूद्ध कडा कानुनी व्यवस्था आवश्यक रहेको बताए ।
‘गलत सूचना वा गलत उजुरीका कारण मानिसको प्रतिष्ठा, व्यवसाय र मानसिक स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ । गलत सूचना दिने व्यक्तिलाई पनि जवाफदेही बनाउने कानुन आवश्यक छ,’ उनले भने ।
सरकारले निजी क्षेत्रमाथि अनावश्यक दबाब सिर्जना गर्न नहुने बताउँदै उनले आफू सत्तापक्षको सांसद भए पनि गलत कामको आलोचना गर्न पछि नहट्ने बताए ।
‘प्रतिनिधि हुनु एउटा कुरा हो, प्रतिनिधित्व गर्नु अर्को कुरा हो । म सदनमा नागरिक, व्यवसायी र सञ्चार क्षेत्रको आवाज उठाइरहनेछु,’ उनले भने ।
View : 43
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved