Biratnagar, Morang, Nepal
१ कार्तिक २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

महँगियो मासुको मूल्य : सुनसरीले तोक्यो मूल्य; मोरङ प्रशासन मौन

उद्‌घोष संवाददाता
३० असोज २०८३, शुक्रवार

Advertisement

विराटनगर । दशैंको मौका छोपेर अचाक्ली बढेको महँगीले उपभोक्ताको ढाड सेकिरहेका बेला विराटनगरमा खसीको मासुको मूल्यमा पनि मनपरी वृद्धि भएको पाइएको छ । 

विराटनगरको कञ्चनबारी क्षेत्रमा प्रतिकलो १४ सय रुपैयाँसम्म मूल्य पुगेको छ । १२ सय रुपैयाँ प्रतिकेजी पाइँदै आएको मासु दसैंको मुखमा अन्यत्र १३ सय बनाएको पाइएको छ । 

दसैंमा खसीको मासुको माग अत्यधिक हुने गर्छ । उपभोक्ताले चाडबाडका बेला महँगो मूल्य तिर्नुपरेको गुनासो गरिरहेका बेला छिमेकी सुनसरी प्रशासनले खसीको मासुको मूल्य प्रतिकिलो अधिकतम १ हजार १०० रुपैयाँ तोकेको छ । 

तर, बिहीबार साँझसम्म मोरङ प्रशासनले भने मूल्य नियन्त्रणका लागि कुनै सार्वजनिक सूचना जारी गरेको छैन । 

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले सुनसरीमा जस्तो मासुको मूल्य अत्यधिक बढेको गुनासो वा उजुरी अहिलेसम्म प्रशासनमा आएको छैन । 

‘सुनसरीमा जस्तो उजुरी, गुनासो वा जाहेरी अहिलेसम्म केही छैन मोरङमा,’ प्रमुख जिल्ला अधिकारी कट्टेलले भने ‘उपभोक्ताको गुनासो नआएकै कारण हामीले यसबारे केही सूचना नगरेको हो ।’ उनले बजार अनुगमन भने लगातार भइरहेको दाबी गरेका छन् । 

सुनसरीमा उपभोक्ताबाट मूल्यवृद्धिको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै खसीबोकाको मासुको खुद्रा मूल्य तोकेको हो । 

सूचनामा अर्को व्यवस्था नभएसम्म प्रतिकिलो बढीमा ११ सय रुपैयाँमा खरिदबिक्री गर्न भनिएको छ । 

तोकिएको मूल्यभन्दा बढी लिई बिक्री गरेको पाइए कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि प्रशासनले दिएको छ ।

तर, सुनसरीसँग सीमा जोडिएको मोरङको सदरमुकाम विराटनगरमै खसीको मासु प्रतिकिलो १३ देखि १४ सय रुपैयाँसम्म पुगेको छ ।  सुनसरी प्रशासनले मूल्य निर्धारण गरेर उपभोक्तालाई राहत दिने प्रयास गर्दा मोरङमा भने गुनासो नभएको प्रशासनको भनाइ छ । 

दशैंमा मासुको खपत सामान्य दिनको तुलनामा बढ्छ । परिवार र आफन्त भेला भएर खाने, पाहुनालाई सत्कार गर्ने र चाडपर्वका लागि विशेष परिकार बनाउने चलनले खसीको मासुको माग बढाउँछ । 
सुनसरी प्रशासनले व्यवसायीलाई तोकिएको मूल्यमा कारोबार गर्न अनुरोध गर्दै त्यसको उल्लंघन गरे कानुनी कारबाही हुने स्पष्ट पारेको छ । 

सूचनामा भनिएको छ, ‘यस सूचनालाई बेवास्ता गरी कसैले अनुचित र अस्वाभाविक मूल्य लिई बिक्री गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिनेछ ।’

विराटनगरमा अहिले लागेको मूल्य र सुनसरी प्रशासनले तोकेको मूल्यसँग तुलना गर्दा प्रतिकिलो १०० देखि ३०० रुपैयाँसम्मको अन्तर हुने देखिएको छ । 

दशैंको मुखमा उपभोक्ताले एउटै वस्तुका लागि फरक मूल्य तिर्नुपर्दा बजार अनुगमनको प्रभावकारितामाथि प्रश्न उठेको छ ।

View : 41

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved