Biratnagar, Morang, Nepal
२० भदौ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

विराटनगरमा आज ५९ औं राधाकृष्ण रथयात्रा

उद्‌घोष संवाददाता
२० भदौ २०८३, शनिवार

Advertisement

विराटनगर । विराटनगरमा आज शनिबार ५९ औं संस्करणको ऐतिहासिक श्रीराधाकृष्ण रथयात्रा निकालिँदैछ । भगवान् श्रीराधाकृष्णप्रतिको आस्था, धार्मिक विश्वास र सामाजिक सद्भावको प्रतीक मानिने रथयात्रामा नेपालका विभिन्न स्थानसँगै सीमावर्ती भारतीय क्षेत्रबाट समेत ठूलो संख्यामा श्रद्धालु सहभागी हुँदैछन् ।

विराटनगर–१ तीनपैनीस्थित श्रीराधाकृष्ण मन्दिरबाट अपरान्ह २ बजे रथयात्रा सुरु हुनेछ । रथयात्रालाई लक्षित गर्दै बिहानैदेखि विराटनगरका मुख्य सडक तथा चोकहरूमा श्रद्धालु, भक्तजन, झाँकी तथा भजन–कीर्तन प्रस्तुत गर्ने समूहको बाक्लो उपस्थिति देखिन थालेको छ ।

रथयात्राका क्रममा विभिन्न धार्मिक तथा सांस्कृतिक झाँकी प्रदर्शन गर्दैछन् ।

हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण रथयात्रा विराटनगरको प्रमुख धार्मिक तथा सांस्कृतिक पहिचानका रूपमा स्थापित भएको छ । रथयात्रामा मोरङ, सुनसरीलगायत नेपालका विभिन्न जिल्लाबाट श्रद्धालु आउने गरेका छन् ।

सीमावर्ती भारतीय राज्य बिहारबाट समेत हजारौं भक्तजन सहभागी हुने भएकाले रथयात्राले नेपाल–भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई समेत थप मजबुत बनाउँदै आएको छ ।

विराटनगरमा पहिलोपटक विक्रम संवत् १९८८ मा राधाकृष्ण रथयात्राको परम्परा सुरु भएको इतिहास छ । विराटनगर महानगरपालिका–१ स्थित राधाकृष्ण मन्दिरबाट सुरु भएको यात्रा प्रारम्भमा खटयात्राका रूपमा निकालिन्थ्यो । त्यसपछि २०२२ सालदेखि बयलगाडामा राधाकृष्णको प्रतिमा राखेर यात्रा निकाल्न थालिएको थियो ।

२०२५ सालमा विराटनगरका भूपालमानसिंह कार्की र सत्यनारायण धनावतले रथ निर्माण गरेपछि हालको स्वरूपमा रथयात्रा अघि बढेको हो ।

रथयात्राले धार्मिक आस्थासँगै विराटनगरको सामाजिक एकता, सद्भाव र सांस्कृतिक विविधतालाई समेत प्रतिबिम्बित गर्दै आएको छ । विभिन्न जातजाति, समुदाय र क्षेत्रका मानिस एउटै धार्मिक उत्सवमा सहभागी हुने भएकाले यसलाई सामाजिक एकताको पर्वका रूपमा समेत लिइन्छ ।

आजको रथयात्राले विराटनगरका विभिन्न मुख्य सडक हुँदै करिब ९ किलोमिटर दूरी तय गर्नेछ। रथयात्राका क्रममा ठूलो संख्यामा श्रद्धालुको सहभागिता हुने भएकाले सुरक्षा तथा यातायात व्यवस्थापनमा समेत विशेष ध्यान दिइएको जनाइएको छ ।

View : 31

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved