Biratnagar, Morang, Nepal
३ असार २०८३, बुधवार
+977 21 450305, 515728, 578305
आर्थिक

उद्योग प्रतिष्ठानको दक्ष जनशक्ति समस्याबारे छलफल

उद्‌घोष संवाददाता
३ असार २०८३, बुधवार

Advertisement

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले उद्योग प्रतिष्ठानमा रहेको दक्ष जनशक्ति समस्याबारे छलफल गरेको छ । 

महासंघको आयोजना तथा रेमी परियोजनाको सहयोगमा मंगलबार विराटनगरमा ‘वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको पुनः एकीकरण’ सम्बन्धी छलफल गरिएको हो ।

महासंघका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले युवाहरूको सीप, अनुभव र श्रमलाई स्वदेशमै उपयोग गर्न सरकार र निजी क्षेत्रले सहयोग गर्दै आएको बताए । 

निजी क्षेत्रसँगको सहकार्यलाई प्रभावकारी बनाउँदै वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूलाई स्वदेशमै रोजगारीका अवसर उपलब्ध गराउने प्रयास निरन्तर भइरहेको उनले जानकारी दिए ।

उद्योग, व्यवसाय तथा रोजगारदातासँग समन्वय गरी विदेशबाट फर्किएका श्रमिकहरूलाई रोजगारीसँग जोड्ने काम भइरहेको जनाइएको छ । 

कार्यक्रममा रोजगार सेवा केन्द्र, निजी क्षेत्र र वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूबीचको सम्बन्धलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिइएको थियो । यस्तो प्रयासले आर्थिक पुनःएकीकरणमा समेत सकारात्मक योगदान पुगेको महासंघले जनाएको छ ।

रेमी परियोजनाअन्तर्गत नौ वटा स्थानीय तहहरूमा रहेका उद्योग व्यवसाय क्षेत्रको व्यवस्थापकीय जिम्मेवारीमा रहेका प्रतिनिधिहरूको उपस्थितिमा आयोजित कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूलाई रोजगारीका अवसर उपलब्ध गराउने विषयमा छलफल गरिएको थियो । 

यो परियोजनाअन्तर्गत कोशी प्रदेशमा ३०० जनाको विवरण संकलन गरी १५० जनालाई रोजगारीमा आबद्ध गराउने लक्ष्य राखिएको र हालसम्म करिब १५० जना वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको विवरण संकलन सम्पन्न भएको महासंघले जनाएको छ । 

अवसरको खोजीमा रहेका करिब १५ जनाको रोजगारी मिलान (जब प्लेसमेन्ट) को प्रक्रिया पनि अघि बढिसकेको जनाइएको छ ।

कार्यक्रममा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयका उपसचिव गोपालप्रसाद दाहाल, विभिन्न उद्योग प्रतिष्ठानका प्रतिनिधिहरू, महासंघका उपाध्यक्षद्वय राजन श्रेष्ठ र रविन दाहाल लगायत कार्यसमिति सदस्यहरूको उपस्थिति रहेको थियो ।

View : 96

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved