Biratnagar, Morang, Nepal
२३ असोज २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
मनोरञ्जन

प्राध्यापक नरेश पौडेलको ‘कर्मैले होलानी’ साङ्गीतिक प्रस्तुती सार्वजनिक

Advertisement

विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका अंग्रेजी विषयका विभागीय प्रमुख तथा साहित्यका अध्येता नरेश पौडेलको रचनामा रहेको गीत ‘कर्मैले होलानि’ हालै युट्युबमार्फत सार्वजनिक भएको छ।

पौडेलको शब्द रहेको गीतमा अञ्जु गौतम र सन्तोष बीसीको स्वर रहेको छ भने संगीत पनि सन्तोष बीसीकै रहेको छ।

 

नारायण दङ्गालले संगीत संयोजन गरेको गीतको रेकर्डिङ काठमाडौंको अनामनगरस्थित स्टुडियो किङमा गरिएको हो। गीतको रेकर्डिङमा सुरेशराज राई र मिक्सिङ तथा मास्टरिङमा राजु कार्कीको भूमिका छ।

गीतलाई श्रव्यसँगै दृश्यात्मक रूपमा प्रस्तुत गर्न क्यामरापर्सन सुरेश भट्टराईले दृश्य छायाङ्कन गरेका छन्।

गीतको भिडियोमा गीतको भाव, शब्द र संगीतको मर्मलाई दृश्य माध्यमबाट प्रस्तुत गर्ने प्रयास गरिएको छ।


साहित्यका अध्येता पौडेल सानैदेखि संगीतमा रुचि राख्थे।

संगीतप्रतिको यही रुचिले उनलाई गीत लेखनतर्फ प्रेरित गरेको हो।

उनी गीतकार बन्नुलाई पेशाभन्दा पनि आफ्नो रुचि र सिर्जनात्मक अभिव्यक्तिको माध्यमका रूपमा लिन्छन्। उनका विभिन्न गीत तथा साहित्यिक रचना छन्।

अहिले उनी कविता सङ्ग्रह प्रकाशनको तयारीमा समेत छन्।
पौडेलले २०५५ सालदेखि भोजपुर क्याम्पसबाट प्राध्यापन सुरु गरेका थिए।

२०६५ सालदेखि महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा अध्यापनरत उनी स्नातक तथा स्नातकोत्तर तहमा अंग्रेजी विषय अध्यापन गर्दै आएका छन्।


त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ, महेन्द्र मोरङ क्याम्पस एकाइका सभापति नवीन अधिकारीले पौडेललाई सिर्जनशील, शान्त स्वभावका बौद्धिक तथा भावुक व्यक्तित्वका रूपमा चित्रण गरे।

उनका अनुसार पौडेल मानवताको व्यवहार गर्ने र नेपाली समाजलाई नजिकबाट बुझ्ने व्यक्ति हुन्।
प्राध्यापनलाई पेशागत कर्म र साहित्य तथा संगीतलाई सिर्जनात्मक रुचिका रूपमा अघि बढाइरहेका पौडेलको ‘कर्मैले होलानि’ गीत सार्वजनिक भएसँगै उनको अर्को सिर्जनात्मक परिचय पनि श्रोतामाझ पुगेको छ।

गीतको शब्द, संगीत, स्वर र दृश्य प्रस्तुतिले पौडेलको साहित्यिक तथा सांगीतिक रुचिलाई एकसाथ उजागर गरेको छ।

View : 285

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved