Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

लोकतन्त्रमा अल्पमतको सरकार चलाउनु पर्छ भन्ने पक्षमा छैनः केसी

उद्घोष सम्वाददाता
२४ वैशाख २०८१, सोमवार

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले लोकतन्त्रमा अल्पमतको सरकार चलाउनु पर्छ भन्ने पक्षमा कांग्रेस नरहेको बताएका छन् ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संसद्‍मा विश्वासको मत पनि नलिने र राजिनामा पनि नगर्ने अडानमा देखिएको अवस्थामा केन्द्रीय सदस्य केसीले कांग्रेसले कतै पनि अस्थिरताको कारक बन्न नहुने बताए ।

सोमबार बिहान प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै केसीले अल्पमतमा भएर पनि सरकारमा बसिरहने भन्ने कुरा उचित नहुने बताएका हुन् ।

‘अल्पमतको सरकार लोकतन्त्रमा चलाउनु पर्छ भन्ने पक्षमा छैनौँ’ केन्द्रीय सदस्य केसीले भने, ‘अल्पमतमा भएर पनि सरकारमा बसिरहने भन्ने हुँदैन, अस्थिरताको कारक कांग्रेस बन्नु हुँदैन ।’

उनले संघीय सरकार सङ्कटमा परिसकेका कारण राष्ट्रियतातिर कुरा लगेर चुच्चे नक्सालाई नोटमा छाप्ने विषयलाई चर्चामा ल्याउन खोजेको बताए ।

केसीले समानुपातिक प्रणाली पूर्ण रुपमा खारेज गरेर निर्वाचन क्षेत्रमै महिला, आदिवासी लगायतलाई कोटा छुट्याउनु पर्ने बताए ।

अहिले सरकार, संसद्‌, राजनीतिक पार्टीदेखि अदालतसम्म सही तरिकाले नचलेको आरोप लगाए ।

अदालतले कोशी प्रदेशमा सरकार निर्माणमा सभामुखको भूमिका र गण्डकी प्रदेशमा सभामुखको भूमिकालाई अर्को रुपमा व्याख्या गरेको भन्दै असन्तुष्टि पोखे ।

कांग्रेसका नेता डा. शेखर कोइरालासहितका केही नेताहरूले एमालेसँग मिलेर सरकार बनाउनु पर्ने विषयमा बोल्दै आएको प्रति उनले असहमति प्रकट गरे ।

‘कोशी एमालेसँग मिलेर सरकार बनाउने भनेर लागेका छन्’ उनले भने, ‘अहिलेको सरकार दशैं तिहारसम्ममा आफैं ध्वस्त हुने अवस्था छ, यसलाई वा उसलाई भनेर बोकेर हिँडेर मात्रै हुँदैन ।’

View : 123

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved