विराटनगर । कोशी प्रदेशको अटोमोबाइल बजारमा विद्युतीय सवारीप्रति बढ्दो आकर्षणबीच ओमोडा एन्ड जेएको ब्रान्ड अन्तरगतको नयाँ मोडल ‘जे–६टी’ विराटनगरमा सार्वजनिक गरिएको छ ।
नेपालका लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स् प्रालिले काठमाडौंमा सार्वजनिक गरेको केही समयमै यो गाडी कोशी प्रदेशको प्रमुख व्यापारिक केन्द्र विराटनगरमा सार्वजनिक गरिएको हो ।
कम्पनीका अनुसार प्रारम्भिक अफरअन्तरगत यो गाडी ६६ लाख ९९ हजारमै उपलब्ध हुनेछ । यसको अधिकतम् खुद्रा मूल्य भने ६८ लाख ९९ हजार तोकिएको छ ।
नयाँ जे–६टीलाई विशेषगरी विविध भौगोलिक अवस्थालाई ध्यानमा राखी तयार गरिएको ‘अल–रोडर’ विद्युतीय सवारीका रूपमा प्रस्तुत गरिएको छ ।
यसमा जडान गरिएको रियर–माउन्टेड मोटरले २२० न्यूटन मिटर टर्क उत्पादन गर्छ भने लिथियम आयरन फस्फेट (एलएफपी) प्रविधिको क्याटिएल ब्याट्रीले एक पटकको चार्जमा ४३१ किलोमिटरसम्म यात्रा गर्न सक्ने क्षमता प्रदान गर्छ ।
गाडीमा २२५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स दिइएको छ, जुन यस सेग्मेन्टमै उच्च मानिएको छ ।
४ हजार ४३३ मिलिमिटर लम्बाइ, १ हजार ९१६ मिलिमिटर चौडाइ, १ हजार ७४१ मिलिमिटर उचाइ तथा २ हजार ७१५ मिलिमिटर ह्वील बेस रहेको यो सवारी साहसिक यात्राका लागि उपयुक्त मानिएको छ ।
आधुनिक प्रविधि र सुविधाका हिसाबले पनि जे–६टी अग्रस्थानमा रहेको कम्पनीको दाबी छ । यसमा १९ इञ्चका टायर, १५ दशमलव ६ इञ्चको मुख्य टच स्क्रिन, ९ दशमलव २ इञ्चको इन्स्ट्रुमेन्ट प्यानल, ५० वाट वायरलेस चार्जिङ सुविधा तथा ८ स्पिकर प्रणाली जडान गरिएको छ ।
यसअघि बजारमा आएको जे–६ मोडलको तुलनामा नयाँ संस्करणमा थप ग्राउन्ड क्लियरेन्स र विस्तारित ड्राइभिङ रेञ्ज समावेश गरिएको कम्पनीले जनाएको छ ।
जे–६टीलाई रग्ड डिजाइन, आकर्षक बनावट र उत्कृष्ट ड्राइभिङ अनुभवमार्फत साहसिक यात्रा रुचाउने ग्राहकमा समर्पित गरिएको जनाइएको छ ।
विराटनगरस्थित आधिकारिक शोरुममा यस गाडीको बुकिङ खुलाइएको छ भने अवलोकन र परीक्षण ड्राइभ पनि भइरहेको छ ।
View : 117
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved