विराटनगर । मोरङ जिल्लामा एक महिनामा घरेलु हिंसाको संख्या ह्वात्तै बढेर दोब्बर भएको छ । फागुन महिनामा १७ वटा मात्रै घरेलु हिंसाको उजुरी परेकोमा चैत महिनामा बढेर ३४ पुगेर दोब्बर भएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङले सार्वजनिक गरेको तथ्यांक अनुसार फागुन महिनामा घरेलु हिंसा सम्बन्धी कूल १७ उजुरी मात्रै दर्ता भएका थिए भने चैत महिनामा बढेर ३४ वटा उजुरी दर्ता भएका हुन् ।
फागुन महिनामा शारीरिक यातना सम्बन्धी नौ, पारिवारिक कलह सम्बन्धी पा“च र मादक पदार्थ सेवन सम्बन्धी तीन मात्रै उजुरी थिए ।
त्यस्तै चैत महिनामा बढेर शारीरिक तथा मानसिक यातना २९, पारिवारीक कलहका दुई र मादक पदार्थ सेवन सम्बन्धी तीनवटा घरेलु हिंसाको उजुरी परेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उमेर समूहअनुसार २६–४० वर्ष उमेरका सबै भन्दाबढी हिंसामा पर्ने गरेका छन् ।
चैत महिनाको तथ्यांकअनुसार २६–४० वर्ष उमेर समूहका १८ जनाले प्रहरीमा उजुरी गरेका छन् । त्यस्तै १९ देखि २५ वर्ष उमेर समूहका १० जना पीडित रहेका छन् भने ४१–४९ वर्ष उमेर समूहका ६ जना रहेका छन् ।
त्यसैगरी चैत महिनामा उजुरी भएका जम्मा ३४ वटा घटनामा दुईवटा उजुरी मात्रै अदालतसम्म पुगेको एक तथ्यांकले देखाउँछ ।
३४ वटामध्ये २९ वटा मिलापत्रमा टुंगिएको र दुईवटाको काम बाँकी रहेको जिप्रका मोरङको तथ्यांकले देखाएको छ ।
गत फागुन महिनामा भएको घरेलु हिंसाका उजुरीको संख्या १७ मा कुनै पनि उजुरी अदालतमा पुग्न नसकेको र अधिकांश मिलापत्रमै टुंगिएको तथ्यांकले प्रष्ट पारेको छ ।
अधिकांश घरेलु हिंसाका उजुरी पर्नुको कारण बेरोजगारी र मादक पदार्थ सेवनले गरेर प्रायः पुरुषले श्रीमतीमाथि दुव्र्यव्यवहार, शोषण गर्नाले निम्तिने प्रहरी निरीक्षक मेघनाथ दाहालले बताए ।
त्यसैगरी चैत महिनामा आर्थिक अपराधको उजुरीको संख्या पनि बढेको छ । फागुन महिनामा केवल २९ वटा रहेको आर्थिक अपराधको उजुरीको संख्या चैतमा बढेर ४६ पुगेकोे छ ।
आर्थिक अपराध अन्तर्गत फागुनमा ठगीको उजुरी तीन थियो भने चैतमा बढेर पा“च पुगेको छ ।
त्यस्तै चैतमा बैंकिङ कसुर सम्बन्धी ३६ वटा घटना दर्ता भएकोेमा चैतमा बढेर ४१ वटा घटना दर्ता हुन पुगेको छ ।
आपराधिक लाभ र अनुचित लेनदेन सम्बन्धी घटना दर्ता भने फागुन र चैत दुबै महिनामा शून्य रहेको जिप्रका मोरङको तथ्यांकले देखाउँछ ।
त्यस्तै सवारी दुर्घटनाबाट चैतमा ज्यान गुमाउनेको संख्यामा बृद्धि भएको छ ।
फागुन महिनामा सवारी दुर्घटनाबाट आठ जनाको मृत्यु भएकोमा चैतमा बढेर १२ पुगेको छ । फागुन महिनामा जम्मा १६६ वटा दुर्घटना भएकोमा चैतमा बढेर २०० पुगेको छ ।
त्यस्तै फागुन महिनामा चालकको लापरवाहीले ७३ वटा दुर्घटना भएको थियो भने चैत महिनामा चालकको लापरवाहीका कारण १४७ दुर्घटना भएको छ ।
त्यस्तै फागुन महिनामा सवारी साधन चेकजाँचबाट १३ लाख ८१ हजार ५ सय ३ रुपैयाँ राजस्व संकलन भएको छ भने चैत महिनामा १४ लाख ५४ हजार ५ सय ४ रुपैयाँ राजस्व संकलन गरेको जिप्रका मोरङले जनाएको छ ।
त्यस्तै तथ्यांकअनुसार फागुनको तुलनामा चैत महिनामा लागुऔषधसहित दोब्बर मानिस पक्राउ परेका छन् ।
फागुन महिनामा केवल १४ व्यक्ति पक्राउ परेका थिए भने चैत महिनामा दोब्बर वृद्धि हुँदै २८ जना पक्राउ परेका हुन् ।
प्रहरीले प्रत्येक महिना निकै जनचेतनामूलक कार्यक्रमको आयोजना गर्ने गरेको जानकारी दिएको छ । प्रहरी समुदाय साझेदारी अन्तर्गत मात्रै चैत महिनामा कार्यक्रम हुने गरेको प्रहरी निरीक्षक मेघनाथ दाहालले उद्घोषलाई जानकारी दिए ।
‘समुदायस्तरमा चैत महिनामा मात्रै ६० वटा जनचेतनामूलक कार्यक्रमको आयोजना गरेको छौं ।’ उनले भने, त्यस्तै सवारी दुर्घटना न्यूनिकरण सम्बन्धी जम्मा ५ सय १० वटा जनचेतनामूलक कार्यक्रमको आयोजना गरेका छौं ।’
यद्यपि अपराधका संख्या घट्नुको सट्टा बढ्दा समाजमा प्रहरी र सुरक्षा व्यवस्थाप्रति गम्भीर प्रश्न खडा भएको छ ।
View : 150
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved