Biratnagar, Morang, Nepal
१७ भदौ २०८३, बुधवार
+977 21 450305, 515728, 578305
अन्तर्राष्ट्रिय

सिक्किमका मुख्यमन्त्री पिएस गोलेले नेपालका लागि राहत लिएर हिंडेको टोलीलाई गरे विदाई

उद्‌घोष संवाददाता
१५ भदौ २०८३, सोमवार

Advertisement

गान्तोक । बाढीपहिरोबाट प्रभावित नेपालका नागरिकलाई सहयोग गर्न भारतको सिक्किम सरकारले राहत सामग्रीसहितको टोली नेपाल पठाएको छ । सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (पिएस गोले) ले सोमबार बिहान गान्तोकस्थित रिज पार्कबाट राहत टोलीलाई हरियो झण्डा देखाएर नेपालतर्फका लागि बिदाइ गरेका छन् ।

‘सिक्किम फर नेपाल’ अभियानअन्तर्गत सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले राहत संकलन अभियान सञ्चालन गरेको थियो । राहत टोलीमा चिकित्सक, उद्धार तथा विपद् व्यवस्थापनका जानकार र स्वयंसेवकहरू सहभागी रहेको जनाइएको छ ।

टोलीले बाढीपहिरोबाट बढी प्रभावित क्षेत्रमा औषधि तथा स्वास्थ्य सामग्री, खाद्यान्न, खानेपानी र आपत्कालीन आश्रयका सामग्री पुर्‍याउने जनाइएको छ ।

राहत टोलीलाई बिदाइ गर्दै मुख्यमन्त्री गोलेले नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरे । उनले विपद्को कठिन समयमा सिक्किम नेपालका नागरिकसँगै रहेको बताए ।

राहत सामग्री जुटाउन सहयोग गर्ने स्वयंसेवक, पार्टीका सदस्य तथा सर्वसाधारणलाई पनि मुख्यमन्त्री गोलेले धन्यवाद दिए ।

नेपाल र सिक्किमबीचको सम्बन्ध केवल सीमाले छुट्याएको सम्बन्ध नभई आपसी आत्मीयता, मानवीय भावना र छिमेकीपनमा आधारित रहेको उनको भनाइ थियो ।

मुख्यमन्त्री गोलेले विपद्का बेला पीडितको साथमा उभिनु मानवीय दायित्व भएको उल्लेख गर्दै राहत अभियानमा सक्रिय भएका स्वयंसेवक, पार्टीका सदस्य तथा सर्वसाधारणको योगदानको प्रशंसा गरे ।

उनले छोटो समयमै आवश्यक राहत सामग्री जुटाउन सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिएका छन् ।

बिदाइ कार्यक्रममा गान्तोककी मेयर छिरिङ पाल्देन भुटिया, उपमेयर सारा लामा, राजनीतिक सचिव बिकास बस्नेत, एसकेएमका विभिन्न तहका पदाधिकारी, सरकारी अधिकारी तथा ठूलो संख्यामा स्वयंसेवकहरूको उपस्थिति थियो ।

View : 33

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved