विराटनगर । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालासहितको संस्थापन इतर पक्षले आइतबार विराटनगरमा कोशी प्रदेशस्तरीय एकता भेला आयोजना गरेको छ ।
आगामी १५ औं महाधिवेशन, पार्टीको संगठन सुदृढीकरण तथा सदस्यता अध्यावधि लगायतका कांग्रेसभित्रका राजनीतिक असहमति भइरहँदा यो पक्षले विराटनगरमा प्रदेशस्तरीय भेला गरेको हो ।
पछिल्लो समय कांग्रेसभित्र नेतृत्व चयन, क्रियाशील सदस्यता अद्यावधिक र नयाँ वितरण, भ्रातृ तथा शुभेच्छुक संस्थाको व्यवस्थापन लगायतका विषयमा विशेष महाधिवेशन पक्षधर र वर्तमान इतर पक्षबीच मतभेद बढेको छ ।
सभापति गगन कुमार थापाले पार्टीको १५औं महाधिवेशनमार्फत पार्टी कब्जा गर्ने रणनीति बनाएको यो पक्षको बुझाई छ । सोही कारण पार्टीभित्र आफुहरूको सम्मानजनक स्थानको खोजीमा इतर पक्ष देशव्यापी रुपमा एकता भेलामा जुटेको जनाइएको छ ।
कोशी प्रदेशस्तरीय भेलाको नेतृत्व डा. शेखर कोइरालाले गरेका छन् । भेलाको अध्यक्षता कांग्रेस कोशी प्रदेश समितिका महामन्त्री एवं प्रदेश सभा सदस्य भुपेन्द्र राईले गरेका छन् ।
विराटनगरको होटल मनास्लु इनमा आइतबार आयोजित भेलामा देउवा र कोइराला पक्षका नेता कार्यकर्ताहरू उपस्थित भएका छन् ।
कोशी प्रदेश कांग्रेसका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको भेलामा पार्टीको वर्तमान अवस्थाको समिक्षा गर्दै अहिलेको भूमिका कमजोर भएको निश्कर्ष निकालेका छन् । यस्तो अवस्था आउनुको दोष उनीहरूले सभापति गगन कुमार थापालाई लगाएका छन् ।
बोल्ने नेताहरूले कांग्रेस फुटको संघारतर्फ अघि बढेको भन्दै दुःख पनि व्यक्त गरेका छन् । त्यस्तै केहीले दुवै पक्षमा खुलेका नेतृत्व तह असहिष्णु र असक्षम रहेको भन्दै आक्रोस पनि पोखेका छन् ।
यो भेलामा नेपाली कांग्रेसबाट निर्वाचित कोशी प्रदेश सभाका ६ जना सांसदसहित स्थानीय तहका मेयर उपमेयर, वडाध्यक्षहरू पनि सहभागी छन् ।
भुपेन्द्र राई, केदार कार्की, भीम पराजुली, खगेश्वरी पौडेल, रामकुमार खत्री, भूमि राजवंशी लगायतका प्रदेश सांसद भेलामा देखिएका हुन् ।
View : 102
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved