विराटनगर । मोरङका पत्रकार नारायणभक्त राई सम्मानित भएका छन् ।
अन्वेषकसमेत रहेका राईलाई उनको अनुसन्धानात्मक पुस्तक ‘किरात राई समुदायको प्रथाजनित कानुन’ का लागि ‘छत्र विष्णु राई कृति सम्मान’ बाट सम्मानित गरिएको हो ।
राई समुदायको ओझेलमा परेको मौलिक प्रथाजनित कानुनलाई लिपिबद्ध गर्दै प्राज्ञिक र सामाजिक परिचयलाई उजागर गर्न महत्त्वपूर्ण योगदान पुर्याएबापत उनलाई सम्मान गरिएको हो ।
किरात राई समुदायको छाता संस्था किरात राई यायोक्खाले आफ्नो ३९औँ स्थापना दिवसको अवसरमा अन्वेषकसमेत रहेका पत्रकार नारायणभक्त राईलाई नगद पच्चीस हजार रुपैयाँ तथा सम्मानपत्रसहित सम्मानित गरेको हो ।
ललितपुरस्थित सिङ्गापुर गोर्खा पेन्सन एसोसिएसनको हलमा आयोजित समारोहमा अन्वेषक एवं लेखक राईलाई सम्मान गरिएको हो ।
सो अवसरमा सोलुखुम्बुका पत्रकार धनबल राई ‘धनकेशर’ लाई ‘अतम्हरी राई स्मृति पत्रकारिता पुरस्कार’ बाट सम्मानित गरियो । यायोक्खाका केन्द्रीय अध्यक्ष जीवन हाताचो राईले दुवै स्रष्टालाई जनही नगद २५ हजार रुपैयाँ, दोसल्ला र ताम्रपत्रसहितको सम्मानपत्र हस्तान्तरण गरे ।

कार्यक्रममा अध्यक्ष हाताचोले किरात राई जाति, भाषा, संस्कार, संस्कृति र इतिहासको संरक्षणमा बौद्धिक तथा सञ्चार क्षेत्रको भूमिका अपरिहार्य रहेको चर्चा गरे ।
लेखक नारायणभक्तको कृतिले समुदायको ऐतिहासिक दस्तावेजको रूपमा काम गर्ने र पत्रकार राईको सक्रियताले समुदायको आवाजलाई राष्ट्रिय स्तरसम्म पुर्याउन मद्दत पुगेको सम्मानपत्रमा उल्लेख छ ।
View : 113
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved