विराटनगर । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार साझसम्म सम्म १ हजार ६६ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ । करिब ४ हजार मानिसहरु अझै सम्पर्कविहिन रहेको सरकारी अधिकारीहरुले बताएका छन् ।
शव भेटिएका मध्ये रसुवामा ४३ जना, नुवाकोटमा १ सय ५१ जना, धादिङमा ५७ जना, चितवनमा ३ सय २१ जना, गोरखामा ६६ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय १६ जना, नवलपरासी पश्चिम १ सय ६५ जना र भारतमा ९ जना गरी १ हजार ६६ जनाको शव फेला परेको हो ।
फेला परेका शवहरू मध्ये १ हजार ५६ को लाशजाँच मुचुल्का सम्पन्न भएको छ भने ५८ वटा शव आफन्तलाई हस्तान्तरण गरिएको छ ।
यसैगरि पहिचान नभएको ९ सय १३ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवा बाढीमा परि ३ हजार ९ सय ९६ जना सम्पर्कविहीन रहेका छन् ।
प्राधिकरणले मंगलबार साँझ सार्वजनिक गरेको विवरणअनुसार सम्पर्कविहीनमध्ये नुवाकोटमा करिब १ हजार ४५५, जलविद्युत् आयोजनास्थलमा करिब ६३३, रसुवामा करिब ६५६ तथा अन्य विभिन्न क्षेत्रमा समेत ठूलो संख्यामा नागरिक रहेका छन् ।
विदेशी नागरिकतर्फ पनि ५३ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ । बाढी तथा पहिरो प्रभावित क्षेत्रमा हालसम्म ११ हजार ९१३ जनाको उद्धार गरिएको छ ।
नेपाली सेनाको हेलिकोप्टरबाट मात्रै विदेशी २७३ र नेपाली ४ हजार ९१ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ । नेपाली सेनाका हेलिकोप्टरले हालसम्म ६१० पटक उडान भरेका छन् भने निजी क्षेत्रका हेलिकोप्टरबाट काठमाडौंमा २९ वटा उडान भएका छन् ।
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहित २२ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।
View : 20
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved