देवधरा खतिवडाको स्मृतिमा स्वास्थ्य शिविर
भोजपुर । षडानन्द नगरपालिका–१४, बोयामा सञ्चालन भइरहेको निःशुल्क आँखा जाँच तथा स्वास्थ्य शिविरमा पहिलो दिन १३० जनाको आँखा परीक्षण गरिएको छ।
षडानन्द नगरपालिकाको आयोजनामा तथा नेपाल नेत्रज्योति संघ, काठमाडौंको प्राविधिक सहयोगमा बुधबारदेखि सुरु भएको शिविर शनिबारसम्म चार दिन सञ्चालन हुनेछ।
स्वर्गीय देवधरा खतिवडाको स्मृतिमा उनका छोरा कमलहरि खतिवडाको पहल र समन्वयमा आयोजना गरिएको शिविरमा पहिलो दिन परीक्षण गरिएकामध्ये १७ जनामा मोतियाविन्दु र ६ जनामा आँखामा मासु पलाएको (प्टेरिजियम) समस्या देखिएको जनस्वास्थ्य निरीक्षक दुर्गाबहादुर श्रेष्ठले जानकारी दिए।
अन्य केही सेवाग्राहीलाई चश्मा र औषधिबाट उपचार सम्भव रहेको र आवश्यक चश्मा तथा औषधिको समेत निःशुल्क व्यवस्था गरिएको श्रेष्ठले बताए।
शिविरबाट षडानन्द नगरपालिकाका विभिन्न वडा, छिमेकी भोजपुर तथा अरुण गाउँपालिकाका स्थानीयवासीले समेत सेवा लिइरहेका छन्।
षडानन्द–१४ का वडाध्यक्ष झम्कबहादुर रोकाले दुर्गम क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा पुर्याउन शिविर प्रभावकारी भइरहेको बताए।
स्थानीय चेतबहादुर श्रेष्ठले यस्ता स्वास्थ्य शिविरहरू नियमित रूपमा सञ्चालन हुनुपर्ने बताए।
ग्रामीण क्षेत्रमा यस्ता कार्यक्रमले नागरिकलाई ठूलो राहत पुग्ने उनको भनाइ छ।
View : 325
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved