सुनसरी । श्रमिक महिलाहरूले आफ्नो श्रमको मूल्य नपाएको बताएका छन् ।
अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वभरका श्रमिकहरूको अधिकार, सम्मान र योगदानको कदरका लागि भन्दै मनाइँदै आएको भए पनि श्रमिक महिलाहरूले भने श्रमको उचित मूल्याङ्कन नभएको, पुरुषसरह समान पारिश्रमिक नपाएको र लामो समय काम गर्नुपर्ने तथा सामाजिक विभेद भोग्नुपर्ने चुनौती अझै कायम रहेको बताएका हुन् ।
महिला श्रमिकहरूले कृषि, उद्योग तथा घरेलु कामको क्षेत्रमा महत्वपूर्ण योगदान दिंदै आएको भए पनि उनीहरूले सम्मान र मुल्य भने अझै पनि नपाएको ग्रामीण क्षेत्रमा महिला श्रमिकहरूले बताएका छन् ।
सुनसरीको दुहवी–९ ब्याङ्गेटोलमा महिला मानव अधिकार रक्षक सञ्जाल दुहवी र तरङ्गिनी फाउन्डेशनको आयोजनामा महिला श्रमिकहरूले भोगिरहेका समस्या, चुनौती तथा समाधानसम्बन्धि अन्तरक्रियामा सहभागी महिला श्रमिकहरूले आफ्ना समस्या पोखेका हुन् ।
कृषि क्षेत्रमा कार्यरत चन्द्रकिरण गच्छदारले आफूले गहुँ, धान, दाल, चना लगायतका उपजको उत्पादन गरेर परिवार चलाउँदै आएको बताइन् ।
उनले खेतबारीमा सबैभन्दा बढी समय आफैंले दिने गरेको तर आफ्नो श्रमलाई कम मूल्याङ्कन गरिने गरेको गुनासो गरिन् ।
उनले कुनै पनि निकायले सफल कृषकका रुपमा भने श्रीमान्लाई मात्रै पहिचान गर्ने गरेको बताइन् ।
प्लाइउड फ्याक्ट्रीमा कार्यरत श्यामवती माझीले दैनिक करिब १२ घण्टा काम गरे पनि पुरुष श्रमिकको तुलनामा आफ्नो पहिचान कमजोर रहेको बताइन् ।
उनले फ्याक्ट्रीको कामसँगै घरपरिवारको सम्पूर्ण जिम्मेवारी पनि सम्हाल्नुपर्ने भएकाले व्यक्तिगत समय र स्वास्थ्यका लागि फुर्सद नपाएको बताइन् ।
फ्याक्ट्रीमा कार्यरत अन्य महिला श्रमिकहरूले पनि पारिश्रमिक समयमा नपाउने, लामो समय काम लगाउने, एउटै कामका नाममा अन्य कामसमेत गराउने तथा कार्यस्थलमा दबाव र हेपाइ भोग्नुपरेको बताइन् ।
लामो समयदेखि फ्याक्ट्रीमा कार्यरत गीता पाण्डेले कतिपय अवस्थामा श्रमिकलाई फ्याक्ट्रीको कामसँगै व्यक्तिगत र घरायसी काममा समेत लगाउने गरिएको बताइन् ।
गायत्री दाहालले आफूले काम गर्दा उद्योग सञ्चालकले आफ्ना छोराछोरीलाई अनिवार्य रूपमा उनैले सञ्चालन गरेको बोर्डिङमा भर्ना गर्न दबाब दिएको बताइन् । सोही कारण आफूले काम छोड्नुपरेको अनुभव सुनाइन् ।
घरेलु श्रमिक सरिता ऋषिदेवले पारिश्रमिक नपाउने, धेरै मेहनत गर्नुपर्ने र कामको उचित सम्मान नपाउने समस्या भोग्दै आएको बताइन् ।
उनले समाजमा घरेलु काम गर्ने भएकै कारण हेपाइ र अपमानजनक व्यवहार सहनुपरेको पनि गुनासो गरिन् ।
श्रमिक महिलाहरूको गुनासो सुन्न कार्यक्रममा उपस्थित दुहवी नगरपालिकाकी उपप्रमुख मेनुका खतिवडाले उद्योग तथा कलकारखानामा महिला श्रमिकहरूले धेरै समस्या भोग्नु परेको बताइन् ।
पालिकाले नियमित अनुगमन गरिरहेको र श्रमिकमाथि कुनै पनि प्रकारको दुव्र्यवहार भए तुरुन्त जानकारी गराउन गरिन् ।
साथै, महिला श्रमिक अधिकार सुनिश्चितताका लागि सरोकारवाला संस्था र निकायहरूसँग सहकार्य गर्न नगरपालिका तयार रहेको पनि बनाइन् ।
कार्यक्रमले महिला श्रमिकहरूले श्रम शोषण, असुरक्षित कार्य वातावरण तथा सामाजिक विभेदका गम्भीर समस्याहरू उजागर गराएको तरङ्गिनी फाउण्डेशनकी कार्यक्रम अधिकृत रुमा रिजालले बताइन् ।
यस्तो समस्या समाधान गर्न स्थानीय सरकार, सरोकारवाला तथा नागरिक समाजबीच निरन्तर सहकार्य आवश्यक रहनुपर्नेमा उनले जोड दिइन् ।
View : 245
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved