Biratnagar, Morang, Nepal
१५ असार २०८३, सोमवार
+977 21 450305, 515728, 578305
समाज

चौदण्डीगढीमा जंगली हात्तीले ११ घर भत्कायो, १६ लाख २० हजारको क्षति

उद्‌घोष संवाददाता
१५ असार २०८३, सोमवार

Advertisement

उदयपुर । चौदण्डीगढी नगरपालिकाका विभिन्न क्षेत्रमा जंगली हात्तीले ११ घर भत्काएको छ । हात्तीले १६ लाख २० हजार रुपैयाँ बराबरको क्षति गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

हात्तीले घरभित्रका अन्नपात, लत्ताकपडा, भाडावर्तन र लगाएको बालीनाली समेत नष्ट गरिदिएको छ । 

चौदण्डीगढी नगरपालिका–७ लामाचौरी र वडा नम्बर ४ क्षेत्रमा जंगली हात्ती प्रवेश गरेर उपद्रो गर्दै आएको जनाइएको छ । रातका समयमा हात्तीले स्थानीयका घरका टाटीबेरा तथा टिनका घेरा भत्काइदिएको प्रहरीले जनाएको छ ।

चौदण्डीगढी–७ लामाचौरीका खिलबहादुर मगरको भान्सा घरको टाटीबेरा भत्काई धान नष्ट गर्दा करिब १ लाख रुपैयाँ बराबरको क्षति भएको छ । 

सोही स्थानकी वृद्धीमाया राईको दुई कोठे घरको टिनको बेरा भत्काएर भाडावर्तन, धान, चामल र मकैको भुस नष्ट गर्दा ४ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

त्यस्तै बमबहादुर विकको घरको टिनको बेरा भत्काई धानचामल नष्ट गर्दा २ लाख, रोसन विकको घरबाट लत्ताकपडा र भाडावर्तन नष्ट गर्दा २ लाख तथा लक्ष्मी विकको घरको टाटीबेरा भत्काई धानचामल नष्ट गर्दा ३ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

वीरबहादुर मगरको कुखुरा तथा परेवाको खोर, भान्सा घर र ५ कठ्ठाको मकै बालीसमेत नष्ट गर्दा २ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ । राधा विकको घरको बाँसको टाटीबेरा भत्काई घरभित्र रहेको चामल नष्ट गर्दा १ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

त्यसैगरी चौदण्डीगढी–४ मा असुन्ता राईको भान्सा घर भत्काई धान र भाडावर्तन नष्ट गर्दा ३० हजार, सारदा राईको घरको टाटीबेरा, धानको बिउ र केराबारी नष्ट गर्दा ५० हजार, दुर्गा बहादुर बस्नेतको धानको बिउ नष्ट गर्दा २० हजार तथा सरस्वती राईको भान्सा घरबाट चामल र मकै नष्ट गर्दा २० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

हात्ती गाउँमा प्रवेश गरेपछि इलाका प्रहरी कार्यालय बेल्टार र प्रहरी चौकी बसाहाबाट प्रहरी टोली परिचालन भई स्थानीय बासिन्दाको सहयोगमा हात्तीलाई जंगलतर्फ लखेटेको जनाएको छ ।

हात्तीको पटक–पटकको प्रवेशले स्थानीय बासिन्दा त्रसित बनेका छन् । उनीहरूले मानव–हात्ती द्वन्द्व नियन्त्रणका लागि स्थायी समाधान खोज्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

View : 48

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved