Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
समाज

फिटनेशका लागि लोकप्रिय बन्दै एरोबिक

जुनु भट्टराई
२७ चैत २०८०, मङ्गलवार

विराटनगर । विराटनगरको मधुमारास्थित एक सहकारी संस्थामा कार्यरत रबिना खड्का आफ्नो शरीरको तौल बढ्दै गएकोमा निकै चिन्तित थिइन् । नियमित ६ महिनासम्म डाइटिब गरेर घटाएको तौल डाइटिब छोड्नेबित्तिकै पुनः बढ्न थालेपछि उनलाई चिन्ताले सताएको थियो । 

‘जब साथीको सल्लाहमा मैले बिहान एक घण्टा एरोबिक्स गर्न सुरु गरें, तब मेरो चिन्ता विस्तारै कम भएको छ, उनले भनिन् । त्यस्तै कञ्चनबारीकी निलम ढुंगेल विराटनगर–६ शिव मन्दिरमार्गस्थित शिवशक्ति जिम क्लबमा चार महिनादेखि एरोबिक अभ्यास गर्दै आएकी छिन् ।

मोटाएर हैरान बनेकी उनले मोटोपना कम गर्न खानपानमा नियन्त्रण गरिन् । तर, त्यसले उनलाई कमजोर महसुस गराएकाले खाना नियन्त्रण नगरी शारीरिक अभ्यासकै माध्यमबाट तौल घटाउन एरोबिक सेन्टर पुगेकी हुन् । 

‘जब मैले एरोबिक गर्न सुरु गरें, तीन किलो तौल कम भएको छ । शरीर पनि निकै फुर्तिलो भएको छ’, उनले भनिन् ।

पछिल्लो समयमा विशेषगरी महिलाहरूको जिब्रैमा झुण्डिएको शब्द हो एरोबिक । सुगठिलो ज्यान बनाएर शारीरिक रूपमा फिट रहन भन्दै पछिल्लो समयमा एरोबिक्स धाउने क्रम बढ्दो छ । बिहान होस् वा साँझ, समय मिलाएर दैनिक शारीरिक व्यायाम गर्न क्लब धाउने महिलाहरु दिनदिनै बढ्दै गइरहेका छन् ।

तन्नेरीदेखि पाका उमेरका मानिसहरूले पनि फिटनेसमा चाख देखाएपछि शहरमा फिटनेस सेन्टर, हेल्थ क्लब र स्पाको संख्या बढ्दै गएको छ ।

विराटनगरका विभिन्न भेगमा अहिले तौल घटाउनका साथै शरीर फिट राख्न एरोबिक सेन्टर लोकप्रिय बन्दै गएका छन् । कार्यालयमा काम गर्ने हुन् या घरायसी काममै व्यस्त रहने महिला, आफ्नो शरीरलाई सुगठित बनाउन उनीहरू एरोबिक्सतिर आकर्षित भएको पाइन्छ ।

प्रायः बिहान र साँझको समयमा फिटनेसका लागि खोलिएका एरोबिक सेन्टरमा अभ्यासका लागि आउने महिलाको भीडभाड नै देखिन्छ । कोही स्लिम बन्न त कोही शरीरलाई चुस्तदुरुस्त बनाउने कल्पना गर्दै एरोबिक सेन्टर धाउने गरेका छन् ।

कोही स्लिम बन्न, उचाइ बढाउन, कोही मोटाइ घटाउन र कोही स्वस्थ शरीरको कल्पना गर्दै एरोबिक धाउँछन् । गृहिणीहरूको तुलनामा स्कुल कलेज र विभिन्न कार्यालयमा काम गर्ने युवतीहरू शारीरिक अभ्याससँगै सधैं आफूलाई ‘कूल’ राख्न पनि एरोबिक सेन्टर पुग्छन् ।

महिलाहरूका लागि जिम तथा अन्य अभ्यासभन्दा एरोबिक सहज र हल्का रूपमा गरिने शारीरिक व्यायाम हो ।

पहिले–पहिले मोटोघाटो मान्छेलाई खाइलाग्दो र राम्रो भन्ने गरिन्थ्यो, तर हिजोआज स्लिम मानिसहरू पनि सबैको रोजाइमा पर्छन् । सुन्दर र आकर्षक देखिने तरिकाहरू फेरिएका छन् । राम्रो देखिने होडमा युवामात्र नभएर वयस्क महिला र पुरुषदेखि पेट लागेकाहरू पनि उत्तिकै छन् ।

मोटो शरीरबाट छुट्कारा पाउन एरोबिक सेन्टरहरूमा धाउनेहरूको संख्या पछिल्लो समयमा निकै बढेको छ । पछिल्लो समयमा चिकित्सकहरू पनि अधिकांश बिरामीलाई नियमित शारीरिक अभ्यास गर्न सुझाव दिने गर्छन् ।

कतिपय एरोबिक सेन्टरमा धाउने युवतीहरू आफूलाई फिट राख्नमात्र नभएर विभिन्न स्वास्थ्य समस्याबाट मुक्त रहन पनि एरोबिक सेन्टर धाउने गरेको फाइएको छ ।

मोरङ बडी बिल्डिङ संघका अध्यक्ष तथा शिवशक्ति जिम क्लबका सञ्चालक नबिन बित्रम शाह पहिले स्कुल कलेज पढ्ने युवती मात्र आउने जुम्वा एरोबिक शारीरिक अभ्यासमा आजकल त गृहिणी र कार्यालयमा काम गर्ने युवायुवतीहरू पनि उत्तिकै आउने गरेको बताउँछन् ।

उनी भन्छन् ‘महिलाको फिटनेसका लागि गरिने अन्य अभ्यासभन्दा एरोबिक जुम्बा सरल, सहज र आनन्ददायक हुने भएकाले पछिल्लो समय महिलाहरूमा यस अभ्यासप्रति आकर्षण बढ्दै गएको हो ।’ पहिले तौल बढेका र मोटा मानिसहरूले मात्र एरोबिक गर्ने गरेको तर हाल आएर सामान्य मानिसदेखि बिरामीसम्मले एरोबिक गर्न थालेको क्लबका सञ्चालक शाह बताउँछन् ।

के हो एरोबिक ?

संगीतको तालमा शरीरको पूरै भाग हल्लाएर गरिने अभ्यास नै एरोबिक हो । संगीतको तालमा शरीरको नबदेखि कपालसम्मकै व्यायाम गरिने कला नै एरोबिक हो । यसमा संगीतकै तालमा उठेर, नाचेर, उफ्रेर र सुतेर व्यायाम गरिन्छ ।

विशेषगरी संगीतकै तालमा ‘हाइ बिट’ र ‘लो बिट’ मा गरिने व्यायामलाई नै एरोबिक भन्ने गरेको एरोबिक सञ्चालकहरू बताउँछन् । एरोबिकको नियमित अभ्यासले शरीरलाई लामो समयसम्म स्फुर्त र तन्दुरुस्त बनाउने गर्छ ।

वंशाणुगत मोटोपना, डिप्रेसन तथा बढ्दो शहरीकरण र व्यस्त जीवनशैलीका कारण देखा परेका समस्या नियन्त्रण गर्न पनि एरोबिक अभ्यासले महत्वपूर्ण भूमिका खेल्ने प्रशिक्षकहरू बताउँछन् । मोरड जिल्लामा कति एरोबिक्स सेन्टरहरू खोलिएका छन् भन्ने बारेमा ठ्याक्कै कुनै तथ्यांक छैन ।

तर व्यस्त जीवनशैली र खानपानका कारण देखिएको शारीरिक परिवर्तन र मानिसहरू आयनो स्वास्थ्यप्रति सचेत बन्दै फिटनेसका लागि एरोबिक्स सेन्टर तथा क्लब धाउने मानिसहरूको संख्या बढ्दै गएकाले हिजोआज यस्ता फिटनेस सेन्टर खोल्ने क्रम पनि बढ्दै गएको सञ्चालकहरू बताउँछन् ।

प्रायःजसो २० वर्षदेखि २५ वर्षसम्मका र ४५ वर्षमाथिका मानिस नै एरोबिक सेन्टरहरूमा बढी जाने गर्छन् । हिजोआज सबैले शरीरलाई कसरी राम्रो र फुर्तिलो बनाउने भन्नेतर्फ बढी सोच्ने गरेको फिटनेश सेन्टरका सञ्चालकहरु बताउँछन ।

सामान्य एरोबिक गर्दा पसिना धेरै निस्किने भएकाले सामान्य रोग त त्यसै हराउँछ भने अनुहारमा छुट्टै किसिमको चमक देखिन्छ । यो एरोबिक्सको विशेषता हो । सुन्दर र लोभलाग्दो बनाउने मात्र नभएर सौन्दर्यमा निखारसमेत ल्याउने गरेको एरोबिक सिक्नेहरूको अनुभव छ । नेपालमा एरोबिक १७–१८ वर्षअघि नै भित्रिए पनि अहिले आएर यसले निकै लोकप्रियता पाएको एरोबिक सञ्चालकहरू बताउँछन् ।

शिवशक्ति जिम क्लबका सञ्चालक शाह कुनैपनि प्रकारको शारीरिक व्यायाम केही समय गरेर एक्कासी छोड्दा सामान्यतया तौल बढ्न सुरु हुने भएकाले तौल घटाउन चाहानेहरुले निरन्तरता दिनु एकदमै जरुरी भएको बताउँछन् । 

‘चाहे हिंड्न छोड्दा होस् या जुम्बा एरोबिक्स गर्दागर्दै बीचमा छोड्दा होस्, तौल बढ्न सुरु भइहाल्छ, त्यसैले एक्सरसाइज निरन्तर हुनु जरुरी छ, साह भन्छन् ‘एक्सरसाइज निरन्तर भएन भने शरीरको बोसो पग्लन पाउँदैन ।

आफ्नो दैनिकी र खानपानलाई सन्तुलन बनाएर निरन्तर शारीरिक अभ्यास गर्न सकेको खण्डमा भने शरीरलाई मेन्टेन गरेर राख्न सकिन्छ ।’

कुनै पनि प्रकारको शारीरिक अभ्यास गर्दा आफ्नो उमेर शारीरिक अवस्था साथै आफूलाई प्रशिक्षण दिने प्रशिक्षक सो विधामा पोख्त छ कि छैन भन्ने विषयमा ध्यान पुर्‍याउनु अति नै जरुरी हुने प्रशिक्षकहरु बताउँछन् ।

कहिलेकाही शरीरमा कुनै स्वास्थ्य समस्या छ र त्यसबारेमा जानकारी गराइएको छैन या लिइएको छैन भने त्यस्तो अवस्थामा शरीरलाई अभ्यासले फाइदा भन्दा असर पुर्‍याइरहेको पनि हुनसक्ने भएकाले शारीरिक अभ्यास गर्नुअघि सेवा लिने र दिने दुवैबीच राम्रो संवाद हुनु जरुरी भएको फिटनेश सेन्टरका प्रशिक्षकहरुको सुझाव छ ।

View : 324

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved