विराटनगर । सार्वजनिक यातायातमा सिण्डिकेट अन्त्य भएको घोषणा भएको वर्षौं बितिसक्दा पनि विराटनगर–जनकपुर रुटमा भने व्यवसायीबीचको विवादका कारण बस सञ्चालन प्रभावित भएको छ ।
एक पक्षले अर्को पक्षका बस गन्तव्यमा रोकेर फर्कन नदिएपछि दुवैतर्फका यात्रु प्रत्यक्ष मारमा परेका छन् । जनकपुरका व्यवसायीले विराटनगरबाट गएका बस रोकेपछि त्यसको प्रतिरोधमा विराटनगरका व्यवसायीले पनि जनकपुरबाट आएका बस रोक्न थालेका हुन् ।
दुवैतर्फ बस रोक्ने क्रम बढेपछि विराटनगर–जनकपुर आवतजावत गर्ने यात्रुले सास्ती खेप्नुपरेको छ । यात्रुले गन्तव्य पुग्न वैकल्पिक सवारी साधन प्रयोग गर्नुपर्ने अवस्था आएको छ ।
गत जेठ १९ गते जिल्ला प्रशासन कार्यालय धनुषामा जनकी यातायात प्रालि र पूर्व नेपाल यातायात सेवा प्रालिबीच भएको छलफलमा यातायात सञ्चालनमा देखिएका समस्या १५ दिनभित्र समाधान गर्ने सहमति भएको थियो ।
प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र ट्राफिक प्रहरी प्रमुखको उपस्थितिमा भएको छलफलबाट सहमति भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा विवाद पुनः बल्झिएको व्यवसायीको भनाइ छ ।
पूर्व नेपाल यातायात सेवा प्रालिका अध्यक्ष राजन कडेंलका अनुसार जनकपुरका व्यवसायीले करिब ३० वर्षदेखि विराटनगरसम्म नियमित बस सञ्चालन गर्दै आएका छन् ।
विराटनगरका व्यवसायीले पछिल्लो समय जनकपुर रुटमा सेवा विस्तार गरेपछि विवाद सुरु भएको उनले बताए ।
कडेंलका अनुसार गत शुक्रबार विराटनगरबाट जनकपुर पुगेका चारवटा बस त्यहाँ रोकिएपछि विराटनगरमा पनि जनकपुरबाट आएका दुईवटा बस रोकिएका छन् । जनकपुरमा रोकिएका चारमध्ये दुईवटा बस भने त्यहाँबाट निस्किएर विराटनगर फर्किएका छन् ।
विराटनगरका व्यवसायी हरि थापाको बसका चालकले सोमबार राति बस निकालेर विराटनगर ल्याएको व्यवसायीले बताएका छन् । गत जेठ १९ गते धनुषा प्रशासनमा भएको छलफलमा सहभागी पूर्व नेपाल यातायातका महासचिव धर्मदेव साहले प्रशासनको निर्णय कार्यान्वयन हुन नसक्दा समस्या थपिएको बताए ।
उनका अनुसार विराटनगरबाट बिहान ५ बजे जनकपुर जाने बसले तीर्थयात्रीलाई जानकी मन्दिर दर्शन गराएर दिउँसो २ बजे विराटनगर फर्कने समय निर्धारण गरिएको थियो । तर, जनकपुरका व्यवसायीले दिउँसो १२ बजेपछि बस फर्काउन नदिने र यात्रुलाई जनकपुरमै राख्नुपर्ने अडान लिएपछि विवाद बढेको साहले बताए ।
‘जनकपुरमा हाम्रा गाडी चार दिनसम्म रोकिएपछि बाध्य भएर यतापट्टि पनि बस रोक्नुपरेको हो,’ उनले भने । यातायात व्यवसायी राजु धमलाले जनकपुरका पुराना व्यवसायीका कारण विराटनगरबाट जानकी मन्दिर दर्शनका लागि जाने तीर्थयात्रीलाई फर्कन समस्या भएको बताए ।
यता, जानकी यातायातका विराटनगर प्रतिनिधि भुवन आलेले विवादबारे आफूलाई विस्तृत जानकारी नभएको बताए । तर, जनकपुर जाने बस भने तीन दिनदेखि विराटनगरमै रोकिएको उनले जानकारी दिए ।
दुवैतर्फका व्यवसायीले एकअर्काका बस रोक्ने क्रम बढेपछि यात्रु सेवा प्रभावित भएको छ । बस सञ्चालनमा अवरोध हुँदा यात्रुले महँगो तथा असहज वैकल्पिक यातायातको सहारा लिनुपर्ने अवस्था आएको छ ।
सार्वजनिक यातायातमा बस रोकिएको विषयमा आफूलाई जानकारी नभएको मधेस प्रदेशका प्रहरी नायव महानिरीक्षक ओम अधिकारीले बताए । उनले जिल्ला प्रहरीमार्फत समस्या समाधानका लागि पहल गर्ने जानकारी दिए ।
यता, पूर्व नेपाल यातायात सेवा प्रालिले बस रोकिएको विषयमा जिल्ला प्रहरी कार्यालय धनुषामा लिखित जाहेरी दिएको जनाएको छ ।
View : 63
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved