विराटनगर । ८० रुपैयाँ केजीको बिटुमिन १५० रुपैयाँ नाघेपछि विराटनगरका उदाउँदा निर्माण व्यवसायी किशोर भट्टराई यो बर्ष कुनै पनि काम गर्न सक्ने अवस्था नरहेको बताउँछन् ।
अमेरिका–इरान युद्धले कच्चा तेलमा भएको व्यापक मूल्यबृद्धिको प्रत्यक्ष असर पेट्रोलियम पदार्थदेखि बिटुमिनसम्म परेपछि भट्टराई लगायतका दर्जनौं निर्माण व्यवसायी लिएको ठेक्का कसरी पूरा गर्ने भन्नेमा चिन्तित छन् ।
‘कामै गर्न नसकिने भइयो, भ्याटसहित प्रति केजी बिटुमिनको दाम १९० रुपैयाँ पुग्दैछ, डिजल एकसय प्रतिशत बढेको छ’ यासुकी निर्माण सेवाका सञ्चालक रहेका भट्टराईले भने, ‘तेलकै कारण बालुवा गिटीको मूल्यसमेत बढेको छ, यस्तो बेलामा काम गर्ने कुनै उपाय देखिएको छैन ।’
उनले प्रति टिपर १२ हजार रुपैयाँको बालुवा गिटी अहिले १८ हजार रुपैयाँ नाघेको बताए । चालु आर्थिक बर्षमा करीव पाँच किलोमिटर कालोपत्रेको काम सक्नुपर्ने भएपनि आकासिएको मूल्यबृद्धिले समस्या भएको बताए ।
‘अब हात उठाउनुको विकल्प छैन, सामान्य मुल्य बृद्धिलाई त धानेकै हो, तर यो त काबु बाहिर छ’ उनले थपे, ‘भारतमा चैं बृद्धि भएको छैन भन्ने जानकारी आएको छ, यो नेपालमै कालो बजारी भइरहेको हो कि भन्ने लागेको छ, सम्बन्धित निकायले अनुगमन गर्नुपर्दछ ।’
इन्धन तथा निर्माण सामग्रीको निरन्तर मूल्यवृद्धि र अभावका कारण निर्माण उद्योग गम्भीर संकटमा परेको नेपाल निर्माण व्यवसायी महासंघ कोशी प्रदेश समितिका अध्यक्ष जनसेवक भण्डारीले बताए । महासंघले आइतबार पत्रकार सम्मेलन गर्दै निर्माण क्षेत्र समस्या परेको जनाएको छ ।
इन्धनको मूल्यमा भएको अस्वाभाविक वृद्धि तथा बजारमा निर्माण सामग्रीको अभावले निर्माण कार्य प्रभावित भएको भण्डारीले बताए ।
‘समस्या समाधानका लागि ठोस पहल नगरी नेपाल सरकारले केवल मौखिक आश्वासन मात्र दिएको छ’ अध्यक्ष भण्डारीले भने, ‘पूर्वाधार क्षेत्रमा निर्माण व्यवसायीहरू समस्यामा छन्, ठेक्काको मूल्य समायोजनको स्पष्ट नीति जरुरी छ, निर्माण व्यवसायीहरू संकटमा परे मुलुककै विकास रोकिन्छ ।’ उनले अहिलेकै अवस्थामा निर्माण व्यवसायीको काम २० प्रतिशतमा खुम्चिसकेको दाबी गरे ।
निर्माण सामग्रीहरूको अत्यधिक मूल्यवृद्धि भैरहँदा राष्ट्र बैंकको नीतिगत व्यवस्था अनुसार मूल्य घट्ने अवस्था पनि नदेखिएको र मूल्य स्थिरता कायम गर्न समेत कुनै प्रभावकारी कदम नचालिएको प्रति कोशी प्रदेश महासचिव रमेश कार्कीले चिन्ता व्यक्त गरे ।
‘निर्माण कार्य बीचमै रोकिने अवस्था सिर्जना भयो, निर्माणाधीन विकास आयोजनाहरू समयमा सम्पन्न हुनसक्ने स्थिति छैन’ उनले भने, ‘निर्माण उद्योगसँग सम्बन्धित अन्य क्षेत्रहरू समेत आर्थिक रूपमा प्रभावित भइसकेका छन्, सरकारले ध्यान देओस् ।’
उनले इन्धनको मूल्य बढ्दै जाँदा त्यसको प्रत्यक्ष असर सिमेन्ट र डण्डीमा पनि परेको बताए ।
बारम्बारको मूल्यवृद्धिले निर्माण लागत अत्यधिक बढेको र ठेक्का अनुसार काम गर्न कठिन भइरहेको बताए ।
निर्माण कार्यको लागत अप्रत्याशित रूपमा बढ्दा व्यवसायीहरू आर्थिक रूपमा धराशायी हुने अवस्थामा पुगेको जनाइएको छ । यसले गर्दा निर्माणाधीन आयोजनाहरू समयमै सम्पन्न हुन नसक्ने जोखिम बढेको महासंघले जनाएको छ । त्यसका लागि व्यवसायीले आवश्यक क्षतिपूर्ति र सहुलियतको व्यवस्था पाउनु पर्ने माग गरेको छ ।
अर्को प्रसंगमा अध्यक्ष भण्डारीले निर्माण क्षेत्रमा काम गर्ने क्रममा लामो समयदेखि कर्मचारीहरूसँग काम गर्नु परेको अनुभवले उनीहरू स्वच्छ नभएको टिप्पणी गरे । उनले कर्मचारीतन्त्रमा देखिने गलत प्रवृत्तिमा सुधार आउनुपर्ने बताए ।
‘एक रुपैयाँ पनि चाहिंदैन, आओ काम गर्न चैं अहिलेसम्म भनेका छैनन्’ अध्यक्ष भण्डारीले भने, ‘पहिले २० प्रतिशत घोषणा गरेरै छुट्याउनु पथ्र्यो, सुधार भने हुँदैछ, अहिले २–३ प्रतिशतमा झरेको हुनुपर्छ ।’
उनले निर्माण व्यवसायीहरूले पनि काम गर्ने शैलीमा परिवर्तन गर्दै लैजानुपर्ने बताए ।
View : 196
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved