Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

औषधिको समुचित प्रयोगमा जोड

उद्‌घोष संवाददाता
७ वैशाख २०८३, सोमवार

विराटनगर । नयाँ वर्ष २०८३ को अवसर पारेर औषधिको समुचित प्रयोग, सुरक्षित भण्डारण तथा बिक्री–वितरणलाई व्यवस्थित बनाउने उद्देश्यले मोरङमा एकदिने अभिमुखीकरण तालिम सम्पन्न गरिएको छ । 

नेपाल औषधि व्यवसायी संघ मोरङद्वारा आयोजित  कार्यक्रममा औषधि व्यवसायीहरूलाई जिम्मेवार, सचेत र व्यावसायिक आचारसंहिताप्रति प्रतिबद्ध बनाउनेमा जोड दिइएको हो । 

कार्यक्रममा बोल्दै औषधि व्यवस्था विभाग, कोशी प्रदेशकी निमित्त प्रमुख सचिता बर्माले औषधिको गुणस्तर, सुरक्षित प्रयोग र नियमनमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताइन् । 

‘औषधिको दुरुपयोगले जनस्वास्थ्यमा गम्भीर असर पार्न सक्छ, त्यसैले यसमा कुनै पनि लापरबाही सह्य हुँदैन,’ उनले भनिन् । 

नेपाल औषधि व्यवसायी संघ मोरङका अध्यक्ष देशबन्धु ढकालले औषधिको व्यापार केवल व्यवसाय मात्र नभई जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको संवेदनशील क्षेत्र भएकाले व्यवसायीहरू अझ जिम्मेवार हुनुपर्ने बताए । 

‘औषधि बेच्नु मात्र होइन, उपभोक्तालाई सही जानकारी दिनु पनि हाम्रो दायित्व हो,’ उनले भने । 

नेपाल औषधि व्यवसायी संघ कोशी प्रदेशका अध्यक्ष धनबहादुर काफ्लेले बिना पे्रस्क्रिप्सन औषधि बिक्री, औषधिको दुरुपयोग र भण्डारणमा देखिएका कमजोरीहरू चुनौतीका रूपमा देखिएको बताए । 

उनले यस्ता समस्यालाई नियन्त्रण गर्न व्यवसायीहरू स्वयं सचेत हुनुपर्नेमा जोड दिए ।

अभिमुखीकरण कार्यक्रममा औषधि व्यवस्था विभागका फार्मेसी अधिकृत दिपेन्द्र खड्काले औषधिको उचित प्रयोग, भण्डारण तथा बिक्री–वितरणसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । 

उनले औषधिको गुणस्तर कायम राख्न तापक्रम व्यवस्थापन, म्याद सकिएका औषधिको उचित व्यवस्थापन तथा बिक्रीका क्रममा अपनाउनुपर्ने सावधानीबारे विस्तृत जानकारी दिएका थिए । 

कार्यक्रममा सहभागीहरूले औषधि पसलहरूको नियमित अनुगमन तथा नियमनमा कडाइ आवश्यक रहेकोमा जोड दिएका थिए ।

View : 172

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved