Biratnagar, Morang, Nepal
७ असार २०८३, आइतवार
+977 21 450305, 515728, 578305
खेलकुद

विश्वकप फुटबल : लयमा फर्केको हो ब्राजिल ?

उद्‌घोष संवाददाता
७ असार २०८३, आइतवार

Advertisement

विराटनगर । नेपाली फुटबल प्रेमीहरूमाझ ज्यादै लोकप्रिय र विश्व फुटबलको ‘पावरहाउस’ ब्राजिल अन्ततः आफनो वास्तविक लयमा फर्किएको संकेत दिएको छ । 

जारी फिफा विश्वकप २०२६ अन्तर्गत शनिबार भएको खेलमा हाइटीलाई ३–० ले स्तब्ध पार्दै ब्राजिलले केवल महत्वपूर्ण ३ अंक मात्र जोडेन,  आफना विश्वभरका  समर्थकहरूलाई उत्सव मनाउने गतिलो बहाना समेत दिएको छ ।

नेपालमा फुटबल भन्नु र ब्राजिल भन्नु उस्तै–उस्तै मानिन्छ । पेले, रोनाल्डो, रोनाल्डिन्हो हुँदै नेयमारसम्म आइपुग्दा नेपाली सडक र गल्लीहरूमा ब्राजिलियन जर्सीको पहेंलो र निलो रङ जताततै देख्न सकिन्छ । 

पछिल्ला केही विश्वकपहरूमा ब्राजिलको प्रदर्शन सोचेअनुरूप हुन नसक्दा नेपाली समर्थकहरू निकै निराश थिए । 

सन् २०१४ को घरेलु मैदानमा बेहोरेको लज्जास्पद हार, र त्यसपछिका संस्करणहरूमा क्वार्टरफाइनलबाटै बाहिरिनुपरेपछि ब्राजिलको त्यो पुरानो सुन्दर खेल हराएको शङ्का गरिएको थियो । 

तर, फिलाडेल्फिया स्टेडियममा शनिबार प्रदर्शन गरेको खेलले ब्राजिल फेरि एकपटक विश्वकपको बलियो दाबेदारका रूपमा उभिएको प्रमाणित गर्छ ।

शनिबारको खेलमा ब्राजिल पूर्ण रूपमा हाबी देखियो । पहिलो हाफमै गरेको तीन गोलको मद्दतले ब्राजिलले खेलमा आफ्नो पूर्ण नियन्त्रण कायम ग¥यो । ब्राजिलका लागि म्याथेस कुन्हा नायक सावित भए । 

उनले खेलको २३ औं र ३६ औं मिनेटमा उत्कृष्ट गोल गर्दै टोलीलाई २–० को सुरुवाती अग्रता दिलाए ।

पहिलो हाफकै इन्ज्युरी समयमा स्टार खेलाडी भिनिसियस जुनियरले तेस्रो गोल थपेपछि ब्राजिल पहिलो हाफमै ३–० को आरामदायी स्थितिमा पुग्यो ।

दोस्रो हाफमा ब्राजिलका थप दुई प्रहारले पोस्टको दिशा लिए पनि ती अफसाइड घोषित भएका थिए । यो जितसँगै समूह ‘सी’ मा दुई खेलबाट ४ अंक जोड्दै ब्राजिल शीर्ष स्थानमा उक्लिएको छ र अन्तिम ३२ (नकआउट चरण) मा प्रवेश गर्ने सम्भावना निकै बलियो बनाएको छ । 

यही समूहमा मोरक्कोको पनि समान ४ अंक छ, तर गोल अन्तरका आधारमा ब्राजिल अगाडि छ । 

यसअघि ब्राजिल र मोरक्कोबीचको खेल बराबरीमा टुङ्गिएको थियो । 

यसै समूहको अर्को खेलमा मोरक्कोले स्कटल्यान्डलाई पराजित गरेपछि स्कटल्यान्ड ३ अंकसहित तेस्रो स्थानमा छ भने लगातार दोस्रो हार खेपेको हाइटीको यात्रा कठिन बनेको छ ।

जितको खुसीयालीमाझ ब्राजिलका लागि स्टार खेलाडी राफिन्हाको चोट भने चिन्ताको विषय बनेको छ । खेलका क्रममा घाइते भएपछि उनको स्थानमा रायनले मैदान प्रवेश गरेका थिए ।

नकआउट चरण नजिकिदै गर्दा राफिन्हाको चोटले ब्राजिलियन क्याम्पमा केही दबाब थप्न सक्छ ।

शनिबारै भएको समूह ‘डी’ को अर्को निकै नाटकीय र रोमाञ्चक खेलमा पाराग्वेले टर्किएमाथि १–० को कठिन जित निकालेको छ ।

खेल सुरु भएको ६५ औं सेकेन्डमै पाराग्वेका माटियास गालार्जाले सानदार गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । यो गोल जारी विश्वकपकै हालसम्मको सबैभन्दा छिटो समयमा भएको गोल बन्न पुग्यो । 

पहिलो हाफको इन्जुरी समयमा पाराग्वेका मुख्य फरवार्ड मिगुएल अल्मिरोनले रातो कार्ड खाएपछि पाराग्वे १० खेलाडीमा सीमित भएको थियो । 

दोस्रो हाफभरि टर्किएले खेलको ७९ प्रतिशत समय बल आफ्नो नियन्त्रणमा राख्दै लगातार आक्रमण बने पनि पाराग्वेको बलियो रक्षापंक्ति तोड्न सकेन ।

फिफा विश्व वरियतामा २२ औं स्थानमा रहेको बलियो टर्किए ४१ औं वरीयताको पाराग्वेसंग पराजित भएसँगै चालू विश्वकप २०२६ को समूह चरणबाटै बाहिरिने पहिलो ठुलो टोली बनेको छ ।

View : 54

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved