Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
राजनीति

मुख्यमन्त्री कार्कीको सचिवालय ७६ दिनपछि सार्वजनिक, असोज २८ कै मितिमा नियुक्ति भएका थिए सात जना

उद्‌घोष संवाददाता
१३ पुष २०८०, शुक्रवार

Advertisement

विराटनगर, १२ पुस । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्री भएको ७६ दिनपछि सचिवालय सार्वजनिक गरेका छन् । सचिवालयमा नियुक्त भएका व्यक्ति र तिनको योग्यताबारे सोधखोज हुन थालेपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार सचिवालयको नाम सार्वजनिक गरेको हो । कार्की गत असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका हुन् । 

मुख्यमन्त्री कार्यालयका बैठक तथा प्रशासन सचिव ईश्वरकुमार गिरीले सचिवालयमा रहेका सम्पूर्ण कर्मचारीको विवरण प्राप्त नभएकाले वेबसाइटमा राख्न ढिलाइ भएको बताए । बिहीबार दिउँसोसम्म सचिवालयको नाम सार्वजनिक नगरिएको अवस्थामा सोधिएको प्रश्नमा गिरीले त्यस्तो जवाफ दिएका हुन् ।

  • विवरण ढिलो सार्वजनिक गरिए पनि मुख्यमन्त्री कार्कीले असोज २७ गते सपथ लिएको भोलिपल्टै असोज २८ को मिति राखेर सात जनालाई सचिवालयमा नियुक्ति दिएका छन् । उनीहरूले सोही मितिबाट तलब भत्ता बुझिरहेका छन् ।

यद्यपि कार्यालयले यो समाचार तयार पार्दा भने मुख्यमन्त्री कार्कीको सचिवालयमा रहेका केही कर्मचारीको विवरण सार्वजनिक गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा बिहीबार अपरान्ह १ बज्दासम्म पनि सचिवालयको विवरण सार्वजनिक भएको थिएन ।

मुख्यमन्त्री कार्यालयले त्यसपछि सार्वजनिक गरेको विवरणअनुसार, मुख्यमन्त्री कार्कीको सचिवालयमा जनसम्पर्क सल्लाहकारका रुपमा लीलाबल्लभ घिमिरे नियुक्त भएका छन् । उनको नाम १ नम्बरमा छ । उनी सहसचिवस्तरको जनसम्पर्क सल्लाहकारमा नियुक्त भएका हुन् । घिमिरे नेपाल पत्रकार महासंघ कोशी प्रदेश समिति अध्यक्ष पनि हुन् ।

मुख्यमन्त्री कार्कीले प्रेस सल्लाहकार भने पत्रकार देवनारायण साहलाई नियुक्त गरेका छन् । उनको नाम मुख्यमन्त्री कार्यालयले ३ नम्बरमा सार्वजनिक गरेको छ । २ नम्बरमा इञ्जिनियर खगेन्द्र कर्णको नाम छ । मुख्यमन्त्री कार्कीले कर्णलाई प्राविधिक सल्लाहकार नियुक्त गरेका छन् ।

सचिवालयमा प्राविधिक सल्लाहकार नियुक्त गर्ने कार्की पहिलो मुख्यमन्त्री हुन् । यसअघिका मुख्यमन्त्रीले प्राविधिक सल्लाहकार नियुक्ति गरेका थिएनन् । मुख्यमन्त्री कार्कीले प्रमुख स्वकीय सचिवमा कृतिभूषण बस्नेतलाई भर्खरै नियुक्त गरेका छन् ।

कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मुख्यमन्त्रीको सचिवालयतर्फका आवास तथा कार्यालय सहयोगीसहित ९ जनाको नाम सार्वजनिक गरेको हो । त्यसमध्ये ३ जनाको फोटो र मोबाइल नम्बरसहितको विवरण सार्वजनिक गरिएको छ भने बाँकीको हकमा खाली राखिएको छ ।

कार्यालयका अनुसार सचिवालयमा रहेका सबै कर्मचारीको विवरण प्राप्त नभएकाले वेबसाइटमा राख्न ढिलाइ भएको हो । सचिवालय कार्यरत कर्मचारीको विवरण मगाइएको र प्राप्त भएलगत्तै उनीहरूको विवरण वेबसाइटमा राखिने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव ईश्वरकुमार गिरीले बताए ।

‘सचिवालयलाई बलियो बनाउन कर्मचारीको नियुक्तिको क्रम जारी छ,’ सचिव गिरीले भने, ‘बिहीबार बेलुकासम्म हामीलाई प्राप्त नामसहितको विवरण राखिने छ । सचिवालयमा पछि थप भएको कर्मचारी विस्तारै अपडेट गरिने छ ।’

मुख्यमन्त्री कार्यालयले ढिलोगरी सचिवालयको विवरण सार्वजनिक गरे पनि सात जनाले भने असोज २८ गते नै नियुक्ति पाएको विवरण भेटिएको छ । मुख्यमन्त्री कार्कीले असोज २७ गते सपथ लिएको भोलिपल्टै सात जनालाई सचिवालयमा नियुक्त गरेका हुन् ।

असोज २८ गतेदेखि लागु हुने गरी एकैसाथ नियुक्ति पाएका सात जनाले सोही मितिबाट तलबभत्ता बुझिरहेका छन् । थप एक जना कर्मचारीलाई भने कात्तिक १ गते नियुक्त गरिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विवरणअनुसार मुख्यमन्त्रीको सचिवालयमा प्रमुख स्वकीय सचिवका रुपमा कृतिभूषण बस्नेत नियुक्त भएका छन् । बस्नेतको नियुक्ति मिति भने खुलाइएको छैन ।

जनसम्पर्क सल्लाहकारका रुपमा लीलाबल्लभ घिमिरे, प्रेस सल्लाहकार देवनारायण साह, प्राविधिक सल्लाहकार इन्जिनियर खगेन्द्र कर्ण, स्वकीय सचिव दिवस राजवंशी, आवास सहयोगी रेनुका पण्डित, कार्यालय सहयोगी विक्रम राजवंशी र हलुका सवारी चालकका रुपमा अशोक राजवंशी असोज २८ गते नै नियुक्त भएका हुन् । सूचना प्रविधि सहायकका रुपमा नियुक्त भएका खेमराज सापकोटा भने कात्तिक १ गतेदेखि नियुक्त भएको विवरणमा देखिन्छ । 

मुख्यमन्त्रीको काममा सहजीकरण गर्न सचिवालय गठन गरिने कानुनी व्यवस्था छ । यस सम्बन्धी कार्यविधि प्रदेश मन्त्रिपरिषद्ले नै बनाउने भएकाले मुख्यमन्त्रीले आफूअनुकूल कार्यविधि बनाएर नियुक्ति गर्ने प्रचलन रहँदै आएको छ ।

मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी ऐन, २०७५ लाई आधार बनाएर कार्यविधि बनाउने गरिएको छ । पछिल्लो कार्यविधिअनुसार प्रमुख स्वकीय सचिव १ जना, स्वकीय सचिव १ जना, राजनीतिक सल्लाकार १ जना, आर्थिक सल्लाकार १ जना, प्रेस सल्लाकार १ जना, सूचना प्रविधि विज्ञ १ जना र हलुका सवारी चालक र कार्यालयसहित आवास सहयोगी दुई/दुई जना नियुक्त गर्ने सकिने छ ।

View : 515

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved