Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

गगनको नेतृत्व स्वीकार्ने निष्कर्षमा कोइराला दाजुभाइ

उद्‌घोष संवाददाता
७ वैशाख २०८३, सोमवार

विराटनगर । विराटनगरस्थित कोइराला परिवारको राजनीतिक विरासत धानिरहेका डा. शेखर कोइराला र शशांक कोइराला अन्ततः गगन थापालाई सभापति स्वीकार्दै मूलधारमा समाहित हुने निष्कर्षमा पुगेका छन् ।

विशेष महाधिवेशनबाट थापा सभापति भएपछि उनलाई नमान्ने भन्दै निर्वाचन आयोग पुगेका शेखर तथा अदालतसम्मै शेरबहादुर देउवालाई साथ दिएका शशांकले सर्वोच्चको आदेशपछि यस्तो मनस्थिति बनाएका हुन् ।

कोइराला दाजुभाइको यो निष्कर्ष त्यस्तो बेलामा आएको छ, जतिबेला शेरबहादुर देउवा खेमामा रहेका केही नेताहरुले अलग पार्टी बनाउनु पर्ने माग अघि सारिरहेका छन् । 

शेखर कोइराला र शशांक कोइराला निकटका नेताहरूले आइतबार राजधानीमा गरेको छलफलमा अदालतको फैसला पूर्ण रूपमा स्वीकार गर्दै पार्टीको एकतालाई प्राथमिकता दिने निष्कर्ष निकालेका छन् ।

यसले कोइराला परिवारका दाजुभाइ अब गगन थापालाई नै सभापतिको रूपमा मान्ने स्पष्ट संकेत गरेको हो ।

शेखर कोइरालाको विशालनगरस्थित सम्पर्क कार्यालयमा आयोजित सो छलफलमा शेखर विराटनगरमा रहेका कारण सहभागी भएनन् । 

निवर्तमान उपसभापति धनराज गुरुङको समन्वयमा भएको बैठकमा पूर्वमहामन्त्री शशांक कोइराला, निवर्तमान सहमहामन्त्री जीवन परियार, बद्री पाण्डे, डा मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, सरिता प्रसाईं, डा चन्द्रमोहन यादव, सीता थपलिया लगायतका नेता उपस्थित थिए । 

धनराज गुरुङले छलफलपछि सञ्चारकर्मीलाई जानकारी दिदै भने, ‘लोकतन्त्र र प्रजातन्त्रमा विश्वास गर्ने जो कोहीले पनि स्वतन्त्र न्यायालयको फैसला अस्वीकार गर्न सक्दैन । हामीले सदैव न्यायिक निर्णयलाई सम्मान गर्दै आएका छौं र अब पनि त्यसै गर्नेछौं ।’

उनले पार्टी सुधार र एकताको जिम्मेवारी सबैको काँधमा रहेको भन्दै थपे ‘हामी कांग्रेसको व्यापक हित र एकताको पक्षमा उभिन्छौं ।’ 

छलफलले गगन थापा नेतृत्वलाई स्पष्ट रूपमा स्वीकार गरेर अघि बढ्ने निर्णय गरेको उनले बताए । अदालतले विशेष महाधिवेशन र थापा पक्षको कार्यसमितिलाई वैधानिकता दिएसँगै अब थापाको नेतृत्व अस्वीकार गर्ने कुनै आधार नरहेको गुरुङको भनाइ छ ।

‘अदालतको फैसला स्वीकार गरिसकेपछि गगन थापा नेतृत्व अस्वीकार भन्ने कुरा नै समाप्त भयो,’ गुरुङले थपे, ‘हामी सबैले पार्टीको ठूलो हितलाई प्राथमिकता दिनुपर्छ ।’ 

यो छलफलले पूर्णबहादुर खड्का पक्षले धुम्बाराहीमा बोलाएको बैठकमा सहभागी नहुने पनि स्पष्ट पारेको छ । 

शनिबार खड्का निवासमा भएको छलफलमा पनि कोइराला पक्षका नेता सहभागी भएका थिएनन् । यसले शेखर कोइराला समूह देउवा–खड्का पक्षबाट क्रमशः टाढिदै गएको संकेत दिएको थियो ।

निवर्तमान सहमहामन्त्री जीवन परियारले विशेष महाधिवेशनको समयमा मतैक्यता कायम गर्न आफूहरूले प्रयास गरेको स्मरण गर्दै अब अदालतको फैसलापछि नयाँ परिस्थिति सिर्जना भएको बताए । 

उनले भने, ‘अदालतको निर्णयलाई सम्मान गर्दै पार्टी एकताबद्ध बनाउनु सबैको कर्तव्य हो । कांग्रेसको स्थापनाकालदेखि नै स्वतन्त्र न्यायपालिकाप्रति हाम्रो निष्ठा रहदै आएको छ’ परियारले थपे ‘अहिलेको अवस्थामा पार्टीको बृहत्तर हित, एकता र बलियो संगठन निर्माण गर्नु साझा जिम्मेवारी हो । केन्द्रीय कार्यसमिति र सभापतिले अझ ठूलो भूमिका खेल्नुपर्छ ।’ 

सर्वोच्च अदालतको शुक्रबारको फैसलाले देउवा समूहबाट कोइराला दाजुभाइ निकटका नेताहरू टाढिन थालेको देखिएको हो ।

View : 191

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved