Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

रेडक्रसको निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित

तल्लो तहदेखि नै प्रतिनिधि चयन कार्य निष्पक्ष र जवाफदेही ढंगबाट अघि बढाउनुपर्ने देखिएपछि तत्काललाई निर्वाचन रोकिएको प्रशासनले जनाएको छ।
उद्‌घोष संवाददाता
२२ वैशाख २०८३, मङ्गलवार

विराटनगर  । नेपाल रेडक्रस सोसाइटीले गुपचुप र अपारदर्शी रूपमा गर्न लागेको निर्वाचन प्रक्रिया तत्काल स्थगन गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले निर्देशन दिएको छ।

वर्षौंदेखि रेडक्रसजस्तो पवित्र संस्थामा हुँदै आएका अमर्यादित गतिविधिहरू निर्मूल गर्न र संस्थाको रूपान्तरण सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याउँदै प्रशासनले जारी निर्वाचन प्रक्रिया अर्को सूचना नभएसम्मका लागि स्थगित गर्न निर्देशन दिएको हो।

रेडक्रसको तल्लो तहदेखि केन्द्रीय तहसम्मको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र पारदर्शी बनाउनुपर्ने भन्दै प्रशासनले यो कदम चालेको जनाएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा २०८३ वैशाख २१ गते हस्ताक्षरित पत्रमार्फत नेपाल रेडक्रस सोसाइटीका तदर्थ समितिका अध्यक्ष विनोदकुमार शर्मालाई निर्वाचन प्रक्रिया यथास्थितिमा राख्न कडा निर्देशन दिइएको छ।

संस्था दर्ता ऐन, २०३४ को दफा ११ र १२ को उपदफा ४ बमोजिम प्रशासनले उक्त निर्देशन दिएको हो। प्रशासनको यो कदमलाई रेडक्रसलाई पारदर्शी बनाउन लामो समयदेखि संघर्षरत ‘रेडक्रस सरोकार समाज’ले स्वागत गरेको छ।

वैशाख २१ गते महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा तदर्थ समितिका पदाधिकारीहरूसँग भएको छलफलपछि प्रशासनले यो निर्णय लिएको हो।

जिल्ला प्रशासन कार्यालयको पत्रमा रेडक्रसको विधानमा यथोचित संशोधन गर्नुपर्ने, सदस्यताको खुला आह्वान गर्नुपर्ने र प्रत्येक तहका प्रतिनिधिको स्वस्थ प्रतिस्पर्धा सुनिश्चित गर्दै सक्षम नेतृत्व चयन गर्नुपर्ने औंल्याइएको छ।

यसअघि, नेपाल सरकारको २०८२ साउन ९ गतेको निर्णयानुसार शर्माको अध्यक्षतामा गठित तदर्थ समितिलाई मन्त्रालयले ३ महिनाभित्र नयाँ कार्यसमिति गठन गर्न निर्देशन दिएको थियो।

तर, तल्लो तहदेखि नै प्रतिनिधि चयन कार्य निष्पक्ष र जवाफदेही ढंगबाट अघि बढाउनुपर्ने देखिएपछि तत्काललाई निर्वाचन रोकिएको प्रशासनले जनाएको छ।

रेडक्रसले वैशाख अन्तिममा पालिका शाखा र जेठमा जिल्ला शाखाको निर्वाचनको समय तय गरेको थियो।

रेडक्रसलाई पारदर्शी बनाउन प्रशासनबाट चालिएको कदम सकारात्मक रहेको रेडक्रस सरोकार समाजका संयोजक तारानाथ भट्टराईले बताए ।

समितिका सहसंयोजक सुरबहादुर श्रेष्ठ र सदस्य ध्रुव वाग्लेले पनि सीमित व्यक्तिहरूको हालीमुहाली र कब्जाबाट रेडक्रसलाई मुक्त गर्ने आफूहरूको अभियानलाई वर्तमान सरकारले सम्बोधन गरेको बताए । 

View : 217

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved