Biratnagar, Morang, Nepal
४ साउन २०८३, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

लेखापढी व्यवसायी कटुवालले फिर्ता गरे विवादित जग्गा

उद्‌घोष संवाददाता
३ साउन २०८३, आइतवार

Advertisement

धनकुटा । ज्येष्ठ नागरिकलाई प्रलोभनमा पारेर आफ्नो नाममा राजीनामा पास गराएको आरोप लागेका मालपोत कार्यालय धनकुटाका लेखापढी व्यवसायी पुष्पराज कटुवालले विवादित जग्गा अन्ततः परिवारलाई फिर्ता गरेका छन् । 

तर जग्गा फिर्ता भए पनि उनीमाथि कुनै कानुनी कारबाही भने भएन । धनकुटा नगरपालिका–४ स्थित स्वर्गीय कुबेरबहादुर राय क्षेत्रीको नाममा रहेको करिब एक रोपनी दुई आना घडेरी कटुवालले आङ्खनो नाममा राजीनामा पास गराएको विषय बिहीबार उद्घोष दैनिकमा प्रकाशित भएको थियो । यस बारे जिल्ला प्रशासन कार्यालय धनकुटामा उजुरीसमेत परेको थियो ।

उजुरीपछि प्रशासनले दुवै पक्षलाई बोलाएर छलफल गराएको थियो । छलफलपछि जग्गा परिवारकै नाममा फिर्ता गर्ने सहमति भएको र शुक्रबार कटुवालले उक्त जग्गा महेश रायका नाममा नामसारी गरिदिएका छन् । 

पीडित पक्षका महेश रायले भने आफूले जग्गा फिर्तासँगै कानुनी कारबाहीको माग गरेर बुधबार निवेदन दिएका थिए ।

उनका अनुसार कटुवालले सुरुमा ६ लाख ७५ हजार रुपैयाँ दिए मात्रै जग्गा फिर्ता गर्ने अडान राखेका थिए । 

आफू काठमाडौं फर्किनुपर्ने बाध्यता र लामो कानुनी प्रक्रियामा जान नसक्ने अवस्थाका कारण अन्ततः दुई लाख रुपैयाँमा सहमतिमा पुग्नुपरेको रायले बताए ।

जिल्ला प्रशासन कार्यालय धनकुटाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले दुवै पक्षबीच सहमति भएपछि विवाद समाधान गराइएको बताइन् । 

उनका अनुसार यदि पक्षहरू सहमतिमा नआएको भए आवश्यक कानुनी प्रक्रियाका लागि प्रहरीमा पठाइने अवस्था थियो । प्रजिअ शर्माले अरु पनि लेखापढी ब्यवसायीबाट यस्ता कार्य भएको हुन सक्ने बताउँदै अनुसन्धान गर्दै जाने जानकारी दिइन् ।

विवादित जग्गा प्रकरणमा कटुवालले ज्येष्ठ नागरिकबाट जग्गा लिएको स्वीकार गरे पनि आफूले गैरकानुनी काम नगरेको दाबी गरे । 

प्रशासनमा भएको छलफलपछि रकम सम्बन्धी सहमति बनेसँगै जग्गा फिर्ता गरिएको हो । पीडित परिवारले भने जग्गा फिर्ता पाएकोमा राहत महसुस गरे पनि यस्ता घटनामा संलग्न व्यक्तिमाथि कानुनी कारबाही हुनुपर्ने माग दोहो¥याएका छन् ।

अविवाहित ज्येष्ठ नागरिक आफन्तको घरमा लामो अवधिदेखि बसोबास गरेको थाहा पाएर जमिन हत्याउने सोचमा २०८१ सालमा कटुवालले क्षेत्रीलाई मोरङको बयरवनबाट धनकुटा लगेका थिए । 

४० हजार रुपैयाँ र मिठो खानेकुरा दिएपछि क्षेत्री जमिन दिन तयार भएका थिए । गत महिना उनको मृत्यु भएपछि क्षेत्रीका भाइका छोरा महेश काजक्रिया सकेर बडाबाबुको नाममा रहेको जमिन खोज्न धनकुटा पुगेका थिए । 

स्रोतका अनुसार मालपोत कार्यालय धनकुटामा लेखापढी गर्ने कटुवाल कर्मचारीलाई मनाएर एकल तथा ज्येष्ठ नागरिकको नाममा रहेको जमिन हत्याउन सफल भएका हुन् ।

View : 173

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved