Biratnagar, Morang, Nepal
९ भदौ २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

छाडा छोडिएका २१ वटा खसीबाख्रा नियन्त्रणमा

उद्‌घोष संवाददाता
८ भदौ २०८३, सोमवार

Advertisement

विराटनगर । सडकमा पशु चौपाया खुला रुपमा छाड्नु कानुनी रुपमा दण्डनीय कार्य भए पनि विराटनगरमा यसको प्रभावकारी कार्यन्वयन हुन सकेको छैन ।

छाडा पशुचौपायाका कारण दुर्घटना भएमा सम्बन्धित पशुधनी सम्पर्कमा नआउने समस्या बढ्दै गएको र चौपायाधनीलाई कानुनी कारबाहीको प्रक्रियामा ल्याउन कठिन हुन थालेपछि विराटनगर महानगर प्रहरीले छाडा चौपाया धमाधम नियन्त्रणमा लिन थालेको छ ।

नगर प्रहरीले सडकमा खुला रुपमा छाडिएका पशुचौपाया नियन्त्रणमा लिने क्रममा आइतबार विराटनगरको रानी क्षेत्रमा सडकमा छाडिएका २१ वटा खसीबाख्रा नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका खसीबाख्रा वीरेन्द्र सभागृह छेउमा रहेको इको पार्कमा राखिएको नगर प्रहरीले जनाएको छ । 

सडक तथा सार्वजनिक क्षेत्रमा पशुचौपाया खुला रुपमा छाड्दा आवागमनमा समस्या हुनुका साथै दैनिक दुर्घटनाको जोखिम बढ्दै गएपछि नगर प्रहरीले नियन्त्रणको अभियान चलाएको हो ।

नगर प्रहरी प्रमुख राजन पौडेलका अनुसार नियन्त्रणमा लिइएका खसीबाख्राका सम्बन्धित धनीले आवश्यक प्रमाणसहित तीन दिनभित्र सम्पर्कमा आएर नियमानुसारको जरिवाना तिरेर फिर्ता लैजान सकिने जनाइएको छ । तर, तोकिएको अवधिभित्र चौपाया धनी सम्पर्कमा नआएमा खसीबाख्रा लिलाम बिक्री गरिने व्यवस्था रहेको जानकारी दिए ।

रानी क्षेत्र विराटनगरको व्यस्त तथा सीमावर्ती क्षेत्र भएकाले सडकमा खुला रुपमा छाडिएका पशुचौपायाका कारण सवारी आवागमनमा पटक–पटक समस्या हुँदै आएको नगर प्रहरी प्रमुख पौडेलले बताए । दक्षिणी क्षेत्रमा खसीबाख्रा मात्रै नभई गाई, भैंसीलगायतका पशुचौपाया समेत सडकमा खुला छाड्ने प्रवृत्ति रहेको जनाइएको छ ।

सडकमा पशुचौपाया छाडिँदा अचानक सवारीसाधनको अगाडि आउँदा दुर्घटना हुने जोखिम उच्च हुने र सवारी चालकहरू दुर्घटनामा पर्दै आएका छन् । रातको समयमा सडकमा छाडिएका पशुचौपाया नदेखिँदा मोटरसाइकल तथा अन्य सवारीसाधन दुर्घटनामा पर्ने गरेका छन् । यस्तो घटनामा पशुचौपायाका धनीको पहिचान गर्न तथा क्षतिको जिम्मेवारी लिनसमेत समस्या हुने गरेको नगर प्रहरीले बताएको छ ।

सडकमा पशुचौपाया छाड्ने प्रवृत्तिलाई नियन्त्रण गर्न नियमित अनुगमन तथा कारबाहीलाई निरन्तरता दिइएको छ । महानगरपालिकाले पशुचौपायालाई सडक तथा सार्वजनिक स्थानमा खुला रुपमा नछाड्न सम्बन्धित धनीलाई आग्रह पनि गर्दै आएको छ ।

सडकमा छाडिएका पशुचौपायाका कारण दुर्घटना भएमा पशुधनी सम्पर्कमा नआउने समस्या धेरै छ । यसले दुर्घटनाबाट हुने क्षतिको व्यवस्थापनमा थप कठिनाइ हुने गरेको छ ।

महानगरपालिकाले पशुचौपाया पाल्ने व्यक्तिले आफ्ना पशुलाई सुरक्षित रुपमा राख्नुपर्ने र सार्वजनिक सडक तथा आवागमन हुने स्थानमा खुला रुपमा छाड्न नहुनेमा जोड दिंदै आएको छ ।

सडक तथा सार्वजनिक स्थानमा चौपाया छाडेर मानिसको आवागमन वा सार्वजनिक सुरक्षामा असर पार्ने कार्यलाई दण्डनीय बनाइएको छ ।

यस्तो कसुरमा तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको छ । कानुनले पशुधनीलाई जिम्मेवार बनाउँदै कारबाहीको व्यवस्था गरे पनि व्यवहारमा भने सो प्रावधान कार्यान्वयन हुन नसकेपछि महानगर प्रहरीले पशुचौपाया नियन्त्रणलाई तिब्रता दिएको हो ।

यता, नगर प्रहरीले चौपाया नियन्त्रणमा लिएर सामान्य जरिवाना वा चेतावनी दिएर छाड्ने गरेका कारण पशुधनीहरू लारपाही कायमै राख्ने गरेको सवारी चालकहरूको भनाई छ । 

रानी क्षेत्रमा रातको समयमा सडकको डिभाइडरमै गाई बाँधेर राख्ने गरेको समेत भेटिने गरेको स्वयम् नगर प्रहरीहरू बताउँछन् । 

विराटनगर महानगर क्षेत्रका सडकमा चौपाया छाडा छाड्ने तथा बाँध्ने कार्य रोक्न नगर प्रहरी र नेपाल प्रहरीले प्रभावकारी रुपमा समन्वय गरी कानुनअनुसार कारबाही गर्नुपर्ने आवश्यकता रहेको नगरवासीले बताउने गरेका छन् ।

View : 58

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved