Biratnagar, Morang, Nepal
२७ असोज २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

विराट ट्रेड फेयरमा आरएमडीका १८ भन्दा बढी प्रकारका अचार

उद्‌घोष संवाददाता
२६ असोज २०८३, सोमवार

Advertisement

विराटनगर । विराटनगरमा जारी विराट ट्रेड फेयरमा मोरङको उर्लाबारी–७ स्थित आरएमडी लघु उद्योगले १८ भन्दा बढी प्रकारका अचार बिक्रीका लागि राखेको छ । उद्योगले परम्परागत स्वादलाई प्राथमिकता दिँदै विभिन्न फलफूल तथा स्थानीय उत्पादनबाट तयार गरिएका अचार मेलामा प्रस्तुत गरेको हो ।

उद्योगका सञ्चालक मनोहरि दाहाल आफै स्टलमा बसेर अचार बिक्री गरिरहेका छन् । स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने उद्देश्यले मेलामा सहभागी भएको उनी बताउँछन् । उद्योगले अकबरे तामा, अकबरे टिमुर, मिक्स, लप्सी, कागती र आँपलगायतका अचार बिक्रीका लागि राखेको छ । अचारको परिमाण र प्याकेजिङअनुसार प्रतिडिब्बा १०० देखि ५०० रुपैयाँसम्म मूल्य निर्धारण गरिएको दाहालले बताए । ‘हाम्रो उद्योगमा बनेका अचार घरमै तयार गरिएजस्तै स्वादका छन् । न धेरै चर्को, न धेरै पिरो, खानलाई स्वादिलो छन्,’ दाहालले भने ।

उनका अनुसार अचार बनाउन प्रयोग गरिने फलफूल तथा अन्य सामग्रीलाई आवश्यक प्रक्रियाबाट सफा र निर्मलीकरण गरी प्रशोधन गरिन्छ । स्वाद र गुणस्तर कायम राख्न टिमुरको छोप, अदुवा–लसुनको धूलो र बेसारलगायतका मसला प्रयोग गरिन्छ । उद्योगले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले निर्धारण गरेका मापदण्डअनुसार अचार उत्पादन गर्दै आएको दाहालको भनाइ छ ।

अचारमा बाह्य रसायन प्रयोग नगरे पनि दाहालका अनुसार सिलबन्दी डिब्बामा राखिएको अचार नखोली सुरक्षित रूपमा भण्डारण गरेमा दुई वर्षसम्म खानयोग्य रहन्छ । उद्योगले अचारसँगै अर्गानिक बेसार पनि मेलामा बिक्रीका लागि राखेको छ । मेलामा सुरुका दुई दिन बिक्री अपेक्षाकृत कम भए पनि पछिल्ला दुई दिन भने बिक्री सन्तोषजनक रहेको सञ्चालक दाहालले बताए ।

View : 59

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved