Biratnagar, Morang, Nepal
१९ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

उद्योगीको निवासमा प्रहरी खानतलासीप्रति उद्योग परिसंघ कोशीको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग

उद्‌घोष संवाददाता
१८ साउन २०८३, सोमवार

Advertisement

विराटनगर । नेपाल उद्योग परिसंघ कोशी प्रदेशले विराटनगरस्थित प्रतिष्ठित औद्योगिक घराना देवनरा ग्रुपका निर्देशक तथा परिसंघका वरिष्ठ उपाध्यक्ष प्रकाश मुण्दडाको निजी निवास र कार्यालयमा नेपाल प्रहरीले सञ्चालन गरेको खानतलासीप्रति गम्भीर आपत्ति र चिन्ता व्यक्त गरेको छ ।

परिसंघका अध्यक्ष पवन कुमार सारडाले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा बिहान ठूलो संख्यामा प्रहरी परिचालन गरी करिब साढे पाँच घण्टासम्म गरिएको खानतलासीले सम्बन्धित परिवार मात्र नभई समग्र उद्योग–व्यवसायी समुदायको मनोबलमा गम्भीर असर परेको जनाएको छ ।

विज्ञप्तिअनुसार प्रकाश मुण्दडा सफल उद्योगी, लगानीकर्ता तथा समाजसेवीका रूपमा परिचित व्यक्तित्व हुन् । उनको नेतृत्वमा सञ्चालन भएका करिब आधा दर्जन उद्योगमा हजारौँ श्रमिकले रोजगारी पाएका छन् भने उत्पादन, निर्यात र राज्यको राजस्वमा समेत उल्लेखनीय योगदान पुगेको परिसंघले उल्लेख गरेको छ ।

परिसंघले राज्यलाई कुनै पनि नागरिक वा संस्थामाथि कानुनबमोजिम अनुसन्धान गर्ने अधिकार भए पनि त्यसको प्रयोग गर्दा संविधानले प्रत्याभूत गरेका मौलिक हक, गोपनीयताको अधिकार, मानव मर्यादा र सम्मानको पूर्ण संरक्षण हुनुपर्नेमा जोड दिएको छ ।

विज्ञप्तिमा बिहान उज्यालो नहुँदै निजी निवासलाई चारैतिरबाट घेराबन्दी गरी ठूलो संख्यामा प्रहरी परिचालन गर्नु, परिवारका सदस्य तथा ज्येष्ठ नागरिकलाई लामो समय मानसिक दबाबमा राख्नु र लामो समयसम्म खानतलासी सञ्चालन गर्नु उचित नभएको उल्लेख गरिएको छ । यदि यस्तो कारबाही अपरिहार्य थियो भने त्यसको कानुनी आधार, आवश्यकता र उद्देश्यबारे राज्यले पारदर्शी रूपमा सार्वजनिक गर्नुपर्ने परिसंघको माग छ ।

परिसंघले उक्त खानतलासी कुन कानुनी आधार, कुन सूचना वा कुन आवश्यकताका आधारमा गरिएको हो भन्ने विषयमा आधिकारिक जानकारी सार्वजनिक गर्न तथा खोजतलासबाट के प्राप्त भयो भन्ने विषयमा कानुनसम्मत सीमाभित्र स्पष्ट जानकारी दिन सरकारसँग आग्रह गरेको छ ।

प्रेस विज्ञप्तिमा मुलुक आर्थिक मन्दी, लगानीमा आएको संकुचन, उत्पादनमा गिरावट, रोजगारी संकट तथा निजी क्षेत्रको घट्दो मनोबलजस्ता चुनौतीसँग जुधिरहेका बेला उद्योगी–व्यवसायीलाई त्रसित बनाउने शैलीका गतिविधिले लगानीको वातावरण थप कमजोर बन्ने, स्वदेशी तथा विदेशी लगानी निरुत्साहित हुने तथा उद्योग–व्यवसाय पलायनको जोखिम बढ्ने चेतावनी दिइएको छ ।

नेपाल उद्योग परिसंघ कोशी प्रदेशले विधिको शासन, निष्पक्ष अनुसन्धान र न्यायिक प्रक्रियाप्रति आफू पूर्ण प्रतिबद्ध रहेको दोहोर्याउँदै कानुन कार्यान्वयनका नाममा निर्दोष नागरिक, उद्योगी–व्यवसायी वा लगानीकर्ताको सम्मान, प्रतिष्ठा र मनोबलमा अनावश्यक क्षति पुग्ने कार्य लोकतान्त्रिक मूल्य, संवैधानिक भावना तथा लगानीमैत्री वातावरणको मर्मअनुकूल नहुने स्पष्ट पारेको छ ।

परिसंघले सरकारलाई निजी क्षेत्रलाई त्रसित बनाउने होइन, राष्ट्र निर्माणको साझेदारका रूपमा सम्मान गर्दै उद्योग, व्यवसाय र लगानीप्रति विश्वास जगाउने वातावरण सिर्जना गर्न आग्रह गरेको छ। अन्यथा यस्ता घटनाले असुरक्षा, अन्योल र अविश्वास बढाई मुलुकको समग्र आर्थिक विकास तथा लगानी वातावरणमा दीर्घकालीन नकारात्मक असर पर्ने र त्यसको जिम्मेवारी सरकारकै हुने चेतावनी पनि विज्ञप्तिमा दिइएको छ ।

View : 76

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved