Biratnagar, Morang, Nepal
२७ वैशाख २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

स्वास्थ्य बीमामा आवद्ध जेष्ठ नागरिकहरुका लागि छुट्टै  ‘ट्युस्डे क्लिनिक’

जुनु भट्टराई
२९ चैत २०८०, बिहिवार

विराटनगर । स्वास्थ्य विमा बोर्डले जेष्ठ नागरिकहरुलाई सहज तरिकाले सेवा प्रदान गर्न ट्युस्डे क्लिनिक (मंगलबार क्लिनिक) सञ्चालन गर्न आफ्ना सेवा प्रदायक संस्थाहरुलाई परिपत्र गरेको छ । जेष्ठ नागरिकलाई बिना लाइन बिना झन्झट विशेष स्वास्थ्य परीक्षण  होस् भनेर हप्ताको एक दिन विशेष क्लिनिकको रुपमा ‘ट्युस्डे क्लिनिक’ सञ्चालन गर्न अस्पतालहरुलाई परिपत्र गरेको हो । 

निकै संवेदनशील उमेर समूहमा पर्ने र त्यसमाथि पनि उनीहरुमा नियमित औषधि सेवन गरिरहुनुपर्ने बिभिन्न प्रकारका स्वास्थ्य समस्या अन्य उमेर समूहमा भन्दा बढी देखिने भएकाले बिना झन्झट उपचार सेवा लिन सहज होस् भन्ने उद्देश्यले हरेक सेवा प्रदायक संस्थाबाट हप्ताको १ दिन बिशेष क्लिनिकको ब्यवस्था गरिएको स्वास्थ्य बीमा बोर्डकी सूचना अधिकारी ओमकुमारी कँडेलले बताइन् । उनले बैशाख १ गतेवाट सुरु गरिन लागिएको उक्त क्लिनिकले बीमामार्फत स्वास्थ्य उपचार सेवा लिइरहेका जेष्ठ नागरिकहरुलाई ठुलो राहत मिल्ने बताइन । 

‘हामीले आउँदो  बैशाख  १ गतेदेखि यो सेवा सुरु गर्न भनेका छौं । सोही अनुसार प्रदेशस्थित बीमा बोर्डमार्फत सबै सेवा प्रदायक संस्थाहरुलाई परिपत्र गरेका छौं । खासगरी जेष्ठ

नागरिकलाई विशेष परीक्षण तथा उपचार होस् भनेर साताको एक दिन अस्पतालले विशेष क्लिनिक सञ्चालन गरोस् भन्ने हाम्रो चाहना हो, बोर्डकी सूचना अधिकारी कँडेलले भनिन् ‘अब हरेक मंगलबार जेष्ठ नागरिकले सो क्लिनिकमा गएर बिना झन्झट स्वास्थ्य जाँच तथा उपचार गराउन सक्नुहुन्छ ।’

बोर्डका अनुसार नियमित औषधि खाने जेष्ठ नागरिकहरु औषधिको लागि पनि धेरै अस्पताल धाउनुपर्ने र लाइन बस्नुपर्ने बाध्यता रहेको गुनासो धेरै आउने गरेको पाइएकाले  उक्त समस्याबाट विमित जेष्ठ नागरिकलाई राहत दिलाउन उक्त क्लिनिक सञ्चालनमा ल्याउन लागिएको हो । 

त्यसैगरी बोर्डले नागरिकहरुको सबैभन्दा बढी गुनासो चाहिएको औषधि पाइदैन भन्ने रहेको भन्दै बोर्डले १ हजार १  सय ३३ प्रकारका औषधिहरु बीमाले समेटेको र बिरामीहरुलाई ती औषधिहरु उपलव्ध गराउनुपर्ने बताएको छ 

बोर्डका अध्यक्ष डा गुणराज लोहनीले स्वास्थ्य बीमामा सूचीकृत अस्पतालहरुको फार्मेसी सेवाको बारेमा समेत अनुगमन गर्ने बताए । ‘धेरै गुनासो आएको  छ ,अब हामीले सूचीकृत अस्पतालको फार्मेसीको पनि अनुगमन गर्दछौं । तोकिएका पूरा औषधि छ कि छैन हेर्छौ, नभए नियमानुसार आवश्यक कार्वाही गर्छौ,’ उनले भने ।

डा. लोहनीले यसअघि कतिपय अस्पतालहरुले सोधभर्ना समयमा नहुँदा केही समस्या भएको गुनासो गर्ने गरेको भन्दै अब बोर्डले हरेक दुई–दुई महिनामा सोधभर्ना गर्ने र सेवामा पनि सोही खालको परिवर्तन हुनुपर्ने बताए । 

यसअघि बोर्डले नियमित औषधि सेवन गरिरहेका बिमित सदस्यहरुलाई तीन–तीन महिनाका लागि औषधि दिने व्यवस्था लागू भइसकेको छ । बोर्डले अस्पतालहरुलाई यसका लागि पनि छुट्टै रिफरल काउन्टरको व्यवस्था मिलाउन परिपत्र गरेको छ ।

स्वास्थ्य बीमा बोर्ड कोशी प्रदेशका अनुसार कोशी प्रदेशमा प्रदेशको कुल जनसड्ख्याको ४७ प्रतिशत जनसड्ख्या स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका छन् । कुल बिमितमध्ये ४८ प्रतिशत बिमितले स्वास्थ्य बीमामार्फत उपचार सेवा लिएका छन् । जसमध्ये जेष्ठ नागरिक संख्या २ लाख ३२ हजार ५ सय ८ रहेको छ । 

प्रदेशमा ८० वटा सरकारी अस्पताल, ४ वटा सामुदायिक र २२ निजी अस्पताल गरी १०६ वटा स्वास्थ्य सेवाहरूबाट बीमा गराएका बिरामीले सेवा लिदैं आएका छन् ।

View : 148

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved