विराटनगर । विराटनगर महानगरपालिकामा बसोबास गर्ने महिलाको सामाजिक तथा आर्थिक अवस्था चुनौतीपूर्ण रहेको एक अध्ययनले देखाएको छ ।
महानगरपालिका र इन्टरनेशनल डेभलपमेन्ट इन्स्टिच्यूटको प्राविधिक सहयोगमा गरिएको सर्वेक्षणअनुसार महानगरका ७८ प्रतिशत महिलाको कुनै पनि आर्जित आय नभएको देखिएको छ ।
महिलाको आर्जित आय पुरुषको तुलनामा केवल २७ प्रतिशतमा सीमित रहेको प्रतिवेदनमा उल्लेख छ ।
महानगरका १९ वटै वडाका ४१ हजार ४८८ घरधुरीका एक लाख ४९ हजार ८१६ जनामा गरिएको अध्ययनले २१ प्रतिशत महिला अझै निरक्षर रहेको देखाएको छ ।
यस्तै, करिब २० प्रतिशत महिलाको १८ वर्ष नपुग्दै विवाह हुने गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।
प्रतिवेदनअनुसार ४४ दशमलव ५ प्रतिशत घरधुरीको नेतृत्व महिलाले गरिरहेका छन् । वडा नम्बर १६, १७, १८ र १९ लाई विकास र साक्षरताका हिसाबले सबैभन्दा पछाडि रहेका परिधीय वडाका रूपमा अध्ययनले पहिचान गरेको छ ।
अध्ययनले महिलामाथि हुने हिंसाको अवस्था पनि गम्भीर रहेको औंल्याएको छ । धेरै महिलाले विस्तारित परामर्श नपाएसम्म आफू हिंसाको पीडित भएको स्वीकार नगर्ने अवस्था रहेको प्रतिवेदनमा जनाइएको छ ।
वडा नम्बर १७ मा आयविहीन महिलाको संख्या सबैभन्दा बढी ९१ प्रतिशत रहेको छ भने वडा नम्बर १८ मा खाना पकाउन प्रयोग हुने सफा इन्धनको पहुँच ५० प्रतिशतभन्दा कम रहेको उल्लेख छ ।
विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले तथ्यांकको अभावमा योजना निर्माण र बजेट विनियोजनमा समस्या हुने गरेको बताइन् । उनले पछिल्लो अध्ययनले योजना निर्माणमा सहजता ल्याउने विश्वास व्यक्त गरिन् ।
उनले महिलाको वास्तविक अवस्थासम्बन्धी तथ्यांक संकलनका लागि दुई वर्ष लगाएर दस्तावेज तयार गरिएको उल्लेख गर्दै अब यही तथ्यांक महानगरमा महिला सशक्तीकरणका योजनाको आधार बन्ने धारणासमेत राखिन् ।
प्रतिवेदनले महिलाद्वारा उत्पादित वस्तुका लागि स्थायी बजारको अभाव, ऋण प्राप्तिमा धितोसम्बन्धी समस्या तथा आधुनिक प्रयोगशालाको कमी रहेको औंल्याएको छ ।
सुधारका लागि महिलाले उत्पादन गरेका वस्तुको स्थायी बजार निर्माण, बिनाधितो सहुलियतपूर्ण ऋणको व्यवस्था, लैङ्गिक उत्तरदायी बजेट तथा माध्यमिक तहदेखि नै नैतिक र लैङ्गिक शिक्षा अनिवार्य गर्न सुझाव दिइएको छ ।
View : 128
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved